१३ साउन, काठमाडौँ । चीनको राजधानी बेइजिङमा निरन्तर भारी वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । गत शनिबारदेखि सुरु भएको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ भने प्रशासनले बाढीको आपतकालीन चेतावनी जारी गरेको छ ।
बेइजिङका विभिन्न क्षेत्रमा खोलानाला र सडकमा बाढी पसेपछि ८० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले जनाएका छन् । अझै पनि वर्षा नरोकिएको हुँदा मंगलबार दिउँसोसम्म बाढीको जोखिम कायमै रहने अनुमान छ ।

चीनका राष्ट्रपति सी जिनपिङले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन् । उनले भनेका छन्, “बाढीमा हराएका वा फसेका व्यक्तिहरूको उद्धार र सुरक्षित स्थानान्तरणमा कुनै कसर बाँकी राख्न हुन्न।”
बेइजिङमा जुलाई महिनामा बारम्बार बाढी आइरहेको छ । यसअघि सन् २०१२ को जुलाईमा आएको बाढी सबैभन्दा ठूलो थियो, जसमा एकै दिन १९० मिलिमिटर वर्षा हुँदा ७९ जनाको मृत्यु भएको थियो ।
हालको बाढीबाट सडक, पुल, आवास र पूर्वाधारमा समेत ठूलो क्षति भएको छ । स्थानीय प्रशासन, सेना र आपतकालीन टोलीहरू राहत र पुनःस्थापना कार्यमा जुटिरहेका छन् । मौसम विभागले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

















