१३ साउन, चितवन । चितवन र नवलपुरलाई जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् । आज बिहान करिब ६ः०५ बजे उक्त घटनाको जानकारी प्राप्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले घटनाको पुष्टि गर्दै हाल ती युवाको खोजी कार्य जारी रहेको जानकारी दिए ।
उनका अनुसार, हाम फालेका युवकको उमेर अन्दाजी १८ देखि २० वर्षको बीचमा अनुमान गरिएको छ। तर, हालसम्म उनीको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
बेपत्ता युवकको खोजीका लागि सशस्त्र प्रहरी बल १७ नम्बर गणको आइआरटी (इमिडिएट रिस्पोन्स टीम) पोस्टबाट ७ जनाको विशेष टोली खटाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । साथै घटनास्थलको आसपासमा खोजी र निगरानी कार्य तीव्र पारिएको छ ।
नारायणी नदीको गहिराइ र बहावका कारण खोजीमा चुनौती भइरहेको बताइएको छ । स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता युवकको अवस्था पत्ता लगाउने प्रयास जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
यसैबीच, नदी किनारमा आवतजावत गर्ने सर्वसाधारणलाई सचेत रहन र कुनै पनि शंका लाग्दा प्रहरीलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ । प्रहरी प्रशासनले घटना सम्बन्धी थप विवरण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ ।















