१३ साउन, वीरगञ्ज । भारत, बिहारको राजधानी पटनामा सरकारी लापरवाहीको एक अचम्मको घटना सार्वजनिक भएको छ । मसौढ़ी प्रखंड कार्यालयले कुकुरको नाममा आवासीय प्रमाणपत्र जारी गरेको छ, जसमा आवेदकको नाम ‘डॉग बाबू’, बाबुको नाम ‘कुत्ता बाबू’ र आमाको नाम ‘कुटिया देवी’ उल्लेख गरिएको छ। प्रमाणपत्रमा आवेदकको तस्वीरको स्थानमा समेत कुकुरको फोटो राखिएको छ ।
यो निवास प्रमाणपत्र जुलाई २४ तारिखमा आरटीपीएस (RTPS) काउण्टरमार्फत जारी गरिएको थियो, जसमा राजस्व पदाधिकारी मुरारी चौहानको डिजिटल हस्ताक्षर पनि रहेको देखिन्छ। प्रमाणपत्रको संख्या बीआरसीसीओ २०२५/१५९३३५८१ रहेको छ ।

यो अचम्मको प्रमाणपत्र सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रशासनको ध्यान गएको हो । त्यसपछि प्रशासन तुरुन्तै सक्रिय हुँदै उक्त प्रमाणपत्र रद्द गरेको छ र यसमा संलग्न रहेका आवेदक, कम्प्युटर अपरेटर र प्रमाणपत्र जारी गर्ने पदाधिकारीमाथि एफआईआर (FIR) दर्ता गर्न आदेश दिएको छ ।
प्रशासनको कडा कदम
पटना जिल्ला प्रशासनले घटनापछि एक्स (पूर्व ट्विटर) मा प्रतिक्रिया दिँदै भनेको छ, “मसौढ़ी अंचलमा ‘डॉग बाबू’ को नाममा निर्गत गरिएको निवास प्रमाणपत्र तुरुन्तै रद्द गरिएको छ। यस घटनामा संलग्न आवेदक, कम्प्युटर अपरेटर र सम्बन्धित पदाधिकारीविरुद्ध स्थानीय थाना (प्रहरी कार्यालय) मा एफआईआर दर्ता गरी कडा कारबाही गरिनेछ।”
प्रशासनले मसौढ़ीका अनुमण्डल पदाधिकारीलाई २४ घण्टाभित्र विस्तृत अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। साथै दोषी कर्मचारी र अधिकारीमाथि विभागीय तथा अनुशासनात्मक कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
मतदाता नामावली सुधार अभियानकै क्रममा भएको लापरवाही
बिहारमा निर्वाचन आयोगद्वारा सञ्चालन गरिएको मतदाता नामावली पुनरावलोकन अभियान (SIR) अन्तर्गत आवासीय प्रमाणपत्रको माग अत्यधिक बढेको थियो। सीमांचल क्षेत्रका जिल्लाहरूमा प्रमाणपत्र वितरण गर्नुअघि विशेष जाँचको निर्देशन दिइएको भए पनि पटना जस्तो केन्द्रमा यति ठूलो लापरवाही हुनुले सरकारी प्रणालीप्रति प्रश्न उठाएको छ ।
जनताको प्रतिक्रिया
यो घटनाले प्रशासनिक कार्यप्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनालाई हास्यास्पद मात्र नभई, चिन्ताजनक रूपमा समेत लिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “यदि कुकुरको नाममा प्रमाणपत्र बन्न सक्छ भने, सोच्नुस् कति सजिलै नक्कली कागजात बनाइँदैछ होला ।”

















