Logo

१३ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले नयाँ मोड लिएको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट कांग्रेसका दुई प्रदेश सांसद, माया श्रेष्ठ र मिना पराजुली, पछि हटेका छन्आ . फूहरूलाई जानकारी नै नदिई हस्ताक्षर गराइएको भन्दै उनीहरूले मुख्यमन्त्री लामालाई समर्थन जनाएका छन् ।

साउन ११ गतेको मिति राखेर साउन १३ गते मंगलबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा श्रेष्ठ र पराजुलीले भनेका छन्, ‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं।’

यसअघि, साउन ९ गते इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले मुख्यमन्त्री लामाविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यस समयमा श्रेष्ठ र पराजुली संसदीय दलको कार्यालयमा उपस्थित थिएनन्, तर उनीहरूको हस्ताक्षर प्रयोग गरिएको थियो।

यो कदमसँगै ३७ सदस्यीय कांग्रेस संसदीय दलमा शक्ति सन्तुलनमा परिवर्तन आएको छ। अब मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा १८ जना र अविश्वास प्रस्तावको नेतृत्व गरिरहेका इन्द्रबहादुर बानियाँको पक्षमा १९ जना सांसद पुगेका छन्। संसदीय दलको नेता कायम रहनका लागि १९ जनाको समर्थन आवश्यक पर्छ। दुई सांसदको निर्णयले लामाको कुर्सी जोगिने सम्भावना बढाएको छ, यद्यपि बानियाँ पक्षले अझै बहुमतको दाबी गरेको छ।

यस घटनाक्रमले बागमती प्रदेशको राजनीतिमा कांग्रेसभित्रको समीकरण र आगामी दिनको सत्ता समीकरणलाई कसरी प्रभाव पार्छ, त्यो हेर्न बाँकी छ।


सम्बन्धित समाचार