काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा बुझाएका हुन् ।
खड्काले राजीनामा दिएसँगै लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । यो सँगै लामाविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ । यद्धपी, मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबाट कांग्रेसका दुई प्रदेश सांसद, माया श्रेष्ठ र मिना पराजुली पछि हटेका छन् । अहिले अविश्वासको प्रस्ताव गर्ने हालै राजिनामा दिएका मन्त्री खड्का सहित बानियाँको पक्षमा २० जना भएका छन् भने लामाको पक्षमा १८ सांसद छन् ।
यसअघि ९ साउनमा प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यसअघि, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिए पनि सोही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले सोमबार मध्याह्नदेखि नै लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेका छन् ।

















