१३ साउन,काठमाडौं । समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको आगामी योजनाबारे छलफल गर्न आज दिउँसो ३ बजे बैठक बोलाएको छ। बैठक काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
बैठकमा पछिल्लो समय तीव्र रुपमा विकसित भएका राजनीतिक घटनाक्रम, मोर्चाको एकताको प्रयास, तथा भविष्यको साझा रणनीतिलगायत विषयमा गम्भीर छलफल हुने जनाइएको छ।
दुई दिनदेखि नेताहरुबीच निरन्तर भेटवार्ता
बैठकअघि मोर्चाका सदस्य दलहरूबीच निरन्तर संवाद भइरहेको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच पछिल्ला दुई दिनमा दोहोरिएको भेटवार्ताले मोर्चा एकताको प्रयासलाई तीव्र बनाएको छ।
त्यस्तै, मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले पनि प्रचण्ड, माधव नेपालसहित अन्य नेताहरूसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका छन्।
एउटै पार्टीमा रूपान्तरण गर्ने तयारी
वर्तमान मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन्। यी दलहरूलाई एउटै पार्टीमा रूपान्तरण गर्ने सम्भावनाबारे छलफलहरू चलिरहेका छन्।
विश्लेषकहरूका अनुसार मोर्चालाई एकीकृत शक्तिका रूपमा अघि बढाउने प्रयास देशको आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने संकेत देखिन थालेको छ।















