प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ साउन,चितवन । विश्व बाघ दिवसको अवसरमा चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाघ संरक्षणमा मानव–बाघ सहअस्तित्वलाई सुनिश्चित गर्दै द्वन्द्व न्यूनीकरणका उपायबारे गम्भीर बहस भएको छ।

कार्यक्रममा सहभागी संरक्षणकर्मी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू बाघ संरक्षणलाई अझ प्रभावकारी बनाउन सहकार्य आवश्यक रहेकोमा एकमत भएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बाघ संरक्षणका लागि मानव–बाघबीचको सहअस्तित्वलाई स्वीकार गर्दै समाज, सरकार र सरोकारवाला निकायबीच समन्वयमा आधारित विशेष कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याउनुभयो। उहाँले बाघको संरक्षण गर्दा स्थानीय समुदायको सुरक्षा र जीवनस्तरलाई पनि समावेश गर्नुपर्ने बताए।

द्वन्द्व न्यूनीकरणमा जोड
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्य लगायतले बाघको संरक्षणसँगै मानव सुरक्षालाई पनि सम्हाल्ने नीति आवश्यक भएको धारणा राखे।

उनीहरूले बाघको विचरण क्षेत्र, द्वन्द्वग्रस्त क्षेत्र, र जोखिममा परेका बस्तीहरूको पहिचान गरी पूर्वतयारी र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

सहकार्यको प्रतिबद्धता
कार्यक्रममा सहभागी जनप्रतिनिधि, पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूले बाघ संरक्षणको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनीहरूले बाघ संरक्षणलाई पर्यावरणीय सन्तुलन, जैविक विविधता र पर्यटन प्रवद्र्धनसँग जोडेर हेर्नुपर्ने सुझाव पनि दिए।

चितवन राष्ट्रिय निकुञ्जले आगामी दिनमा मानव–बाघ द्वन्द्व न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार