Logo

१३ साउन, वीरगञ्ज । केडिया समूहले किचलो गरेको आर्दशनगर स्थित स्काईलाइन महल लगायत १६ कित्ता जग्गा तत्कालीन सरकारले बृजलाल केडियाको उपस्थितिमा अधिग्रहण गरेको तथ्य वीरगञ्ज महानगरपालिकाले सार्वजनिक गरेको छ।

वीरगञ्ज महानगरपालिकाले तत्कालीन नारायणी अञ्चलका अञ्चलाधीश लक्ष्मण विक्रम भण्डारीको अध्यक्षतामा २०२९ साल असार १ गते बसेको बैठकमा वरिष्ठ उद्योगी तथा समाजसेवी बृजलाल केडियाको समेत उपस्थिति रहेको माइन्यूट मालपोत कार्यालय पर्सालाई पठाएको छ। उक्त दिनको बैठकले ११२ वटा प्लट विभिन्न व्यक्तिलाई बिक्री गर्ने निर्णय गरेको छ।

उक्त माइन्यूटमा उल्लेख भएका कित्ता नम्बरको नक्सा भिडाउँदा केडिया समूहले दाबी गरेको कित्ता नम्बर १४ र १५ तथा निखत परविन अन्सारीको नाउँमा दाबी गरिएको कित्ता नं. १०५ समेत अधिग्रहण गरेको जग्गामा पर्ने नापी कार्यालयका अधिकृत दीपक कुमार सिंहले बताए। २०२९ सालमा अधिग्रहण गर्दा तयार गरिएको नक्सा भित्र कित्ता नं. १४ र १५ स्पष्ट देखिन्छ, यसमा केडिया समूहले गरेको दाबीको कुनै अर्थ छैन, नापी अधिकृत सिंहले भने।

२०२९ साल असार १ गतेको बैठकको निर्णय नम्बर ६ मा भएको निर्णय यस्तो छ, श्री बृजलाल केडियाज्यूको यस आर्दशनगर निर्माण कार्यमा शुरूदेखिनै सक्रिय सहयोग र सेवा भएको र आर्दशनगरमा जमिन पर्ने व्यक्तिलाई जग्गा दिनेमा प्राथमिकता दिने भन्ने सिद्धान्त स्वीकृत भइरहेको हुनाले निजलाई आजको बैठकमा जग्गा दिने बारे छलफल हुँदा हाललाई कित्ता नं. ४९४ देखि ५०० सम्मको प्लट दिने निर्णय भयो।

वीरगञ्ज महानगरपालिकाले प्रमाणित गरेर भूमि व्यवस्था तथा मालपोत कार्यालय पर्सालाई पठाएको पत्रमा अधिग्रहणमा केडिया समूहका अग्रज बृजलाल केडियाको समेत सक्रिय सहभागिता र सहयोग रहेको कुरा माइन्यूटको निर्णयबाट प्रष्ट हुने भएकोले मदनलाल केडिया, प्रदीप केडिया, निखत परविन अंसारीले लगायतले दाबी गरेको कित्ता नं। १४, १५ र १०५ को कुनै औचित्य नभएकाले खारेज गर्न मालपोत पर्सालाई भनेको छ।

बृजलाल केडिया नातामा प्रदीप केडियाका हजुरबुबा हुन्। मालपोत कार्यालय पर्सामा साविक श्रीपुर वडा नं. ९ मा देखिएको श्रेस्ताको कित्ता नं. १४ र १५ रुकमणी देवी केडियाको नाउँमा रहेको छ। बृजलाल केडिया, रुकमणीका सहोदर जेठाजु हुन्। बृजलाल केडिया र महावीर प्रसाद केडिया सहोदर दाजुभाई हुन्। विभिन्न व्यक्तिको जग्गा दावी गर्ने व्यक्तिहरु बृजलाल केडियाका सन्तान हुन ।

आफ्नै परिवारका अभिभावक तथा हजुरबा बृजलाल केडियाको सक्रियता र उपस्थितिमा भएको जग्गा अधिग्रहणको निर्णय विरुद्ध नाति प्रदीप केडिया हिँडेको देखिन्छ। तत्कालीन सरकारले अधिग्रहण गरेको जग्गा मध्ये बृजलाल केडियाले कित्ता नंं ४९४ देखि ५०० सम्म नगर निर्माण समितिसँग खरिद गरेको रेकर्डमा उल्लेख छ । अहिले प्रदीप केडियाले दावी गरेको कित्ता नंं १४ र १५ समेत बृजलाल केडियाको उपस्थितिमा भएको बैठकले अधिग्रहण गरी विभिन्न व्यक्तिलाई विक्री गर्ने निर्णय भएको रेकर्ड महानगरसँग छ ।

तत्कालीन सरकारले अञ्चलाधीशको अध्यक्षतामा समिति बनाएर पशुपति आर्दशनगर निर्माणको लागि विभिन्न व्यक्तिको नाउँमा रहेको जग्गा अधिग्रहण गरेको थियो। २०२९ सालमा नेपाल सरकारले अधिग्रहण गरी समिति मार्फत विभिन्न व्यक्तिलाई बिक्री गरेको जग्गा ५० बर्ष पछि केडिया समूहले आफ्नो नाममा रहेको भनी एक बर्ष देखि दाबी गर्न थालेको छ।

मालपोत कार्यालयले नियतवश १६ जना जग्गा धनीको नाममा २१ दिने सूचना काटेपछि केडिया समूहको नियत बाहिर आएको हो। मालपोत कार्यालयमा विभिन्न व्यक्तिको हकभोगको विवरण छ, महानगरपालिकाले पठाएको पशुपति आदर्शनगर निर्माणको निर्णयलाई मुख्य आधार बनाएर केडियाको श्रेस्ता खारेज गरिनु पर्थ्यो, तर उल्टै वास्तविक धनीलाई त्रास देखाउने गरी पत्र काटियो, स्काईलाइन महलका सञ्चालक सत्यनारायण क्यालले भने।

मालपोत कार्यालय पर्साले स्काईलाइन इन्फ्रा कम्पनी लगायत विभिन्न बैंक, होटल र व्यक्तिको नाममा समेत गएको जेठ २६ गते २१ दिने सूचना जारी गरेको छ। पत्रमा सम्पत्तिको हकभोगको कानुन बमोजिम दाबी गर्न भनिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको विवरण मागेको भन्दै मालपोतले घुमाउरो पारामा जग्गाधनीलाई त्रास पैदा गराउन खोजेको भाषा उक्त पत्रमा उल्लेख गरिएको छ। भूमाफियाको भूमिकामा देखिएका सर्लाहीका सञ्जय कुमार ठाकुरले नै केडिया परिवारलाई प्रयोग गरेर स्वार्थपूर्ति गर्न खोजेको देखिन्छ, महल सञ्चालक क्यालले भने।

तत्कालीन मालपोतका कर्मचारीको त्रुटिका कारण रहन गएको कित्ता नम्बर १४, १५ र १०५ को श्रेस्तालाई आधार बनाएर नगर विकासले बिक्री गरेको जग्गामा दाबी गर्नु केडियाको मूर्खता हो, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका एक पदाधिकारीले भने, “५० वर्षदेखि विभिन्न व्यक्तिहरूले हकभोग गर्दै आएको जग्गामा मेरो हो भन्नु प्रदीपजीकै इमानमा प्रश्न उठ्नु हो।”

रुकमणी देवी केडियाको औचित्यहिन श्रेस्तालाई भजाएर “च्याँखे दाउ” थापेका प्रदीप केडियालाई उनकै हजुर बा बृजलाल केडियाले आर्दशनगर निर्माण समितिबाट खरिद गरेको ७ वटा प्लटको निर्णयबारे पूर्व जानकारी भएकै होला । परिवारका अभिभावकले गरेको निर्णय विरुद्ध भूमाफियासँग मिलेर अरुलाई दुख दिने अभियानमा हिडेका केडिया प्रति समाजले के भन्छ भन्ने कुनै भय देखिदैन । सवैतिर सेटिङ भइसक्यो अब ३ मिहना भित्र स्काईलाइन महल हाम्रो नाउँमा आउँछ, प्रदीप केडियाले मनिङवाकमा हिड्दा साथिहरुलाई भन्ने गरेको स्थानीय एक व्यवसायीले रेसखवरलाई बताए ।

वीरगञ्जमा भूमाफियाको आतंक बढ्यो

नेपाल सरकारले अधिग्रहण गरी तत्कालीन नगर पञ्चायतलाई जिम्मा लगाएको पशुपति आर्दशनगर निर्माण समितिले बिक्री गरेको जग्गामा केडिया समूहले गरेको किचलोलाई स्थानीय प्रशासनले मूकदर्शक भएर हेरेको भनाई पीडित जग्गाधनीहरूको छ। पर्साका प्रजिअले यसमा चासो देखाएका थिए, “तर पछिल्लो समयमा उहाँले कुनै चासो देखाउनु भएको छैन” ? होटल पूजनका सञ्चालक रन्जेश श्रेष्ठले भने।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आर्दशनगरको जग्गा विवादको बिषयलाई स्थानीय प्रशासनले गम्भिर रुपमा लिएको बताए । अहिले दुवै पक्षबाट निवेदन आएको छ, त्यसमा अध्ययन गर्दैछु, प्रजिअ अर्यालले भने । त्यसमा भूमाफियाको चलखेल भएको देखिएमा कानून बमोजिम कार्वाही हुने अर्यालको भनाई थियो ।

यो पनि पढ्नु होला


सम्बन्धित समाचार