१३ साउन,वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा डिप बोरिङका लागि सिधै विद्युतको पोलबाट अवैध रुपमा हुकिङ गरेर लाइन जोड्ने प्रवृत्ति बढेपछि नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले कडा निगरानी सुरु गरेको छ। प्राधिकरणले अवैध हुकिङमार्फत सञ्चालित लाइनहरू काट्ने तयारी गरेको जनाएको छ।
प्राधिकरणका वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेश दुबेका अनुसार अधिकांश डिप बोरिङहरू विद्युत प्रसारण लाइनबाट सिधै हुकिङ गरी चलाइएको पाइएकाले त्यसविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो।
“हुकिङले अराजकता बढाउँछ“
“प्राधिकरण डिप बोरिङको विपक्षमा छैन,” दुबेले बताए, “तर हचुवाको भरमा विद्युत हुकिङ गर्नु गलत हो। यसले अराजकता निम्त्याउँछ।”
उनले डिप बोरिङ चलाउन प्राधिकरणबाट अनुमति लिएर विधिवत् रूपमा मिटर जडान गर्नु आवश्यक रहेको स्पष्ट पारे।
उपभोक्तालाई २४ घण्टामा मिटर जडान
आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख दुबेले यो विषय उठाएका थिए। बैठकले आवश्यक कागजातसहित आएका उपभोक्तालाई २४ घण्टाभित्र मिटर जडान गरिदिने निर्णय गरेको छ।
त्यसैगरी, अवैध हुकिङका विषयमा नागरिकलाई सचेत गराउन स्थानीय एफएमहरूमार्फत सूचना प्रसारण भइरहेको छ।
“एक सातापछि अनुगमन गरिन्छ, अवैध हुकिङ भेटिएमा कारबाहीको दायरामा ल्याइन्छ,” दुबेले चेतावनी दिए।
डिप बोरिङको बढ्दो आवश्यकता
वीरगञ्जमा २०८० सालदेखि गर्मी मौसममा चापाकल सुक्न थालेपछि खानेपानीको संकट झनै तीव्र भएको छ। समस्या समाधानका लागि महानगर क्षेत्रमा टोल टोलमा डिप बोरिङ गाडिएको छ। यस्ता बोरिङमा विद्युतीय मोटर सञ्चालन गर्न सिधै पोलबाट लाइन हुकिङ गर्ने प्रवृत्ति बढेको देखिएको हो।
विद्युत प्राधिकरणले कानुनी प्रक्रिया अपनाएर मिटर जडान गराउने तयारी गरे पनि उपभोक्ताले सो प्रक्रिया अवलम्बन नगर्दा समस्या थपिएको जनाइएको छ।















