१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूमा अन्यत्रभन्दा राम्रो काम भएको दाबी गरेका छन्।
उनले ती स्थानीय तहका काममा पार्टीले कुनै हस्तक्षेप नगरेको जिकिर समेत गरे। मंगलबार ललितपुरमा माओवादी केन्द्र समाज कल्याण विभागले आयोजना गरेको ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘योजनाबद्ध रूपमा अघि बढ्न सके स्थानीय तहले अझै राम्रो गर्न सक्छन्।’ यद्यपि, उनले अहिलेको अपारदर्शी संरचनाका कारण आर्थिक चलखेल’ हुने गरेको स्वीकार गर्दै त्यसमा भने हस्तक्षेप गरी इमान्दारीका साथ संस्थाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिए।
प्रचण्डले देशको राजनीति र विभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको समेत बताए। यसका साथै, उनले सरकारमा रहँदा विभिन्न सामाजिक संघसंस्थाहरूको बजेट सरकारको बजेटसँग समानान्तर देखिएको समस्या समाधान गर्न पहल लिएको दाबी गरे।

















