Logo

१३ साउन,वीरगञ्ज । वीरगञ्जको पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर एक जना बेसहारा पुरुषको मंगलबार उद्धार गरिएको छ। मानव सेवा आश्रम वीरगञ्ज शाखाले सडकमा बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षका पुरुषलाई उद्धार गरेको हो।

उद्धार कार्य मंगलबार दिउँसो करिब १२ः४५ बजे भएको थियो। उद्धार टोलीमा मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी वरिष्ठ हवल्दार दिनेश यादव सहभागी थिए।

मानसिक अवस्था कमजोर भएका कारण ती पुरुषले आफ्नो नाम र ठेगाना खुलाउन सकेनन्। उद्धारपछि उनलाई मानव सेवा आश्रमको वीरगञ्ज शाखामा लगिएको छ, जहाँ उनलाई नुहाइधुवाइ र सरसफाइ गराइएको छ।

मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार, उद्धार गरिएका पुरुषको अब मनोरोग विशेषज्ञ डा. भरत गोइतको निगरानीमा औषधोपचार गरिनेछ। आश्रमले यस्ता बेवारिसे अवस्थाका मानसिक रोगीको उद्धार गर्दै उपचार र संरक्षण गर्दै आएको छ।

स्थानीय तह, प्रहरी प्रशासन, सामाजिक अभियन्ता र मानव सेवा आश्रमको समन्वयमा भएको यस उद्धारले समाजमा मानवीय संवेदना र सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ।


सम्बन्धित समाचार