१३ साउन, काठमाडौं । काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा चार दलीय समाजवादी मोर्चाको महत्त्वपूर्ण बैठक सुरु भएको छ।
लामो समयदेखि निष्क्रिय देखिएको मोर्चालाई थप प्रभावकारी बनाउने, समसामयिक राजनीतिबारे छलफल गर्ने र नयाँ नीति तथा कार्यक्रम ल्याउने मुख्य एजेन्डाका साथ बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन्। मोर्चाका संयोजक एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधिमा देखिएको सुस्तताप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएको थियो। उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूसँग भेटेरै यो विषयमा ध्यानाकर्षण गराउनुभएको थियो। चैत १५ गते काठमाडौँमा भएको विरोधसभापछि मोर्चाले कुनै पनि कार्यक्रम नगरेको अवस्थामा विप्लवले पटकपटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले चासो नदिएकोमा उहाँ असन्तुष्ट हुनुहुन्थ्यो।
गत वर्ष साउन १ गते पुनर्गठन भएको यस मोर्चामा नेकपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी संलग्न छन्। अहिले कार्यदलका सदस्यहरूसहितको यो बैठकले मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ।

















