प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ साउन,वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मा अबदेखि विवाह गर्नुअघि वडा कार्यालयको अनुमति अनिवार्य गरिएको छ।

मंगलबार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बालविवाह नियन्त्रण र समाजमा वैधानिक तथा जिम्मेवार विवाह प्रथा प्रवद्र्धन गर्ने उद्देश्यसहित यो निर्णय गरिएको जनाएको छ।

अनुमति बिना विवाह गरे कारबाही
वडाध्यक्ष मुखियाका अनुसार, अबदेखि वडाभित्र कसैले विवाह गर्न चाहेको खण्डमा वडा कार्यालयबाट स्वीकृति लिनु अनिवार्य छ। अनुमति नलिई विवाह गरेमा वडा कार्यालयले नियमानुसार कारबाही गर्नेछ।

त्यस्तै, विवाह गर्न चाहने केटा–केटी दुवैले २० वर्ष उमेर पूरा गरेको हुनु पर्ने शर्त पनि अनिवार्य गरिएको छ। उमेर नपुगी वा स्वीकृति बिना गरिएको विवाहलाई अवैध ठहर गर्दै कारबाहीको दायरामा ल्याइने वडाध्यक्ष मुखियाले जानकारी दिए।

जनचेतनामूलक अभियान सञ्चालन हुने
बैठकले वडामा बालविवाह प्रथा अन्त्य गर्नका लागि घर–घरमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। स्थानीय स्तरमै सचेतना फैलाएर बालविवाह जस्तो सामाजिक अपराधमाथि नियन्त्रण गर्न वडाले सक्रिय पहल थालेको हो।

बैठकमा वडाध्यक्ष मुखियासहित वडा सदस्य मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले निर्णयमा हस्ताक्षर गरेका छन्।

स्थानीय तहकै पहलमा सामाजिक सुधार
स्थानीय सरकारको यस निर्णयलाई सकारात्मक सामाजिक परिवर्तनतर्फको कदमका रूपमा हेरिएको छ। अब वडा नं. ५ मा वैवाहिक प्रक्रिया कानुनी दायराभित्र ल्याइने भएकाले बालविवाह रोकथाम, बालबालिकाको अधिकार संरक्षण तथा समाजमा जिम्मेवार व्यवहारको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार