१३ साउन,वीरगञ्ज । पत्रकारिताको आडमा विभिन्न विवादमा मुछिँदै आएका कमल उपाध्यायलाई अन्ततः प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएपछि प्रेस चौतारी नेपालले आफ्नो विधानको दफा ३ र दफा ५ को (ग) बमोजिम कारबाही गरेको हो।
अदालतको फैसला र चौतारीको निर्णय
विशेष अदालतले गत असार ८ गते उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। अदालतको फैसला आएको करिब एक महिनापछि प्रेस चौतारीले अनुशासन र विधिको पालना सुनिश्चित गर्न उपाध्यायलाई निष्कासन गर्ने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले उपाध्यायले पचरौता नगरपालिकाको दुईवटा ठेक्काको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झूटा विवरणमार्फत केवल रेकर्डका लागि एक प्रति मात्र टेन्डर सूचना प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाएको ठहर गरेको थियो। प्रकाशन नगरी रकम निकालेर भ्रष्टाचार गरेको यो प्रकरणले उनको व्यावसायिक इमानदारीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको थियो।
कमल उपाध्याय गत वैशाख ७ गते मात्रै मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए। तर, अध्यक्षमा नियुक्ति भएको दुई दिनपछि वैशाख ९ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः पदमुक्त भएका थिए। यो घटनाक्रमले उनको नियुक्ति र विवाद एकैसाथ अगाडि बढेको देखाउँछ।















