१४ साउन, काठमाडौँ । रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले यो जानकारी दिएको हो ।
यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ ।
त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले अहिलेसम्म क्षतिको न्यून मात्र विवरण आएको उनले जनाएका छन्। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन् ।
शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेका छन् ।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन् । हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिइएको छ ।
होनोलुलुमा रहेको अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार एकदेखि तीन मिटर (३.३ देखि १० फिट) अग्ला छालहरूले अमेरिकी टापु क्षेत्र गुआमलाई खतरामा पार्न सक्छ ।

















