१४ साउन, काठमाडौं । बागमती प्रदेशमा मन्त्री नियुक्तिलाई लिएर सत्ता साझेदार दल नेकपा एमाले र मुख्यमन्त्री बहादुर सिंह लामा बीच फरक मत देखिएको छ।
एमालेले हाल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई सुझाव दिए पनि लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ लाई मन्त्रीमा नियुक्त गरेका छन् । तर, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रक्रिया पूरा गरेर दलको नेता टुंगो लगाएपछि मात्रै मन्त्री नियुक्त गर्न सुझाव दिएका छन् । “अहिले मन्त्री नियुक्ति गर्दा विवाद थप बढ्न सक्छ। यसको असर भोलि दीर्घकालीन रूपमा पर्न सक्छ।
त्यसैले हामीले अहिले मन्त्री नियुक्त नगर्न सुझाव दिएका छौँ,” थपलियाले भने, “प्रक्रिया पुर्याएर दलको नेता टुङ्ग्याएर अघि बढ्दा उपयुक्त हुन्छ।” उनले यो सुझाव भएको र मान्ने नमान्ने मुख्यमन्त्रीको अधिकारको कुरा भएको पनि स्पष्ट पारेका छन् ।
एमालेको सुझावका बाबजुद मुख्यमन्त्री लामाले तीन नयाँ मन्त्री नियुक्त गरेका छन्। नियुक्त भएका मन्त्रीहरूमध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। यद्यपि, माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ।
मुख्यमन्त्री लामाले विश्वासको मत गुमाएसँगै आज कांग्रेसको संसदीय दलको नेता चयन हुँदैछ। यसअघि नै कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन अवस्थामा थिए। गोविन्द लम्साल आन्तरिक मामिला तथा कानून मन्त्री बनेपछि पनि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ, र सहकारी तथा गरिबी निवारण मन्त्रालयहरू अझै नेतृत्वविहीन छन् ।
साउन ९ गते चार जना र साउन १३ गते एक जना गरी पाँच मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए, जसका कारण यी मन्त्रालयहरू रिक्त भएका हुन्। एमालेको आग्रहपछि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको समय पनि सरेको छ।















