प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ साउन, काठमाडौं । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका रसुवागढी–केरुङ सञ्चालनमा आउन अझै करिब दुई महिना लाग्ने भएको छ।

गत असार २४ गतेको बाढीले ल्हेंदेखोला मा रहेको मितेरी पुल बगाएपछि यो नाकाबाट हुने व्यापारिक सम्बन्ध टुटेको थियो ।

बेलिब्रिज निर्माणले व्यापारिक सम्बन्ध जोड्ने तयारी

बाढीले पुल बगाएपछि सडक सम्पर्क टुटेकोले पुनः सडक सञ्जालमार्फत व्यापार सम्बन्ध अघि बढाउन चिनियाँ पक्षले अस्थायी रूपमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु गरिसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालै गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेसी–रसुवागढी सडकको निरीक्षण गर्दा चीनले आफ्नो सीमातर्फबाट बेलिब्रिज निर्माण गरिरहेको पाइएको जानकारी मन्त्रीको सचिवालयले दिएको छ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित चिनियाँ राजदूतावासबीच भएको समझदारीमा चीन सरकारले आफ्नै लगानीमा बेलिब्रिज बनाउने प्रतिबद्धता जनाएको थियो। सरकारबाट स्वीकृति लिएर गत साउन ११ गतेदेखि नै चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गरिसकेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।

बेलिब्रिज निर्माण सुरु गर्नु एक दिनअघि रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबीच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको थियो। उक्त बैठकमा उद्धार, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा द्विपक्षीय छलफल भएको थियो। चिनियाँ पक्षले भदौ ३० गते भित्रमा बेलिब्रिज निर्माण सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। यद्यपि, खोलामा बाढीको बहावका कारण निर्माण कार्य अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।

रसुवागढी–स्याफ्रुबेसी सडक पुनः अवरुद्ध

यसैबीच, असार अन्तिम साताको बाढीको कटानबाट अवरुद्ध भई मर्मतपछि गत साउन ४ गतेदेखि सञ्चालनमा आएको रसुवागढी–स्याफ्रुबेसी सडक मार्ग मंगलबार रातिदेखि पुनः अवरुद्ध भएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा सुई सुभराज न्यौपानेले मर्मतपछि सडक निर्बाध सञ्चालनमा रहेको र अधिकांश स्थानमा दुईतर्फी नै सडक सञ्चालनमा ल्याउन सकिएको जानकारी दिएका थिए ।

तर, मंगलबार रातिको बाढीले पुनः तटीय क्षेत्र कटान गरेको र पहिरो झरिरहेको सडक योजनाका इन्जिनियर रूपनारायण पौडेलले बताए। उनले तत्काल सडक खुल्ने अवस्था नरहेको जानकारी दिएका छन्।


सम्बन्धित समाचार