१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध मानव तस्करीको आरोपमा प्रहरीमा उजुरी परेको छ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत यो उजुरी पठाएका हुन्। तर, काठमाडौं प्रहरीले भने उजुरी आधिकारिक रूपमा दर्ता हुन नसक्ने बताएको छ।
पौडेलले आफ्नो उजुरीमा प्रधानमन्त्री ओलीसहित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गरी मानव तस्करी गरेको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीका साथै गृहमन्त्री रमेश लेखक र थुप्रै पूर्वगृहमन्त्रीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
उजुरीमा अनुसन्धानको माग गरिएका महत्त्वपूर्ण व्यक्तिहरूमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, र पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधि, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्वश्रममन्त्री डोलप्रसाद अर्याल सामेल छन्।
अख्तियारपछि प्रहरीमा उजुरी, तर दर्ता हुन सकेन
यसअघि पनि पौडेलले प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए। यो पटक जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी पठाइए पनि, परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि आधिकारिक रूपमा दर्ता हुन नसक्ने जानकारी दिएका छन्। उजुरी दर्ता गर्न नसक्नुको कारण भने स्पष्ट पारिएको छैन।

















