१३ साउन,सेढवा । पर्साको ग्रामीण भेगमा साउन महिनामा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने क्रम बढेको छ। धान रोपाईंको काम सकिएपछि र सामुदायिक विद्यालयहरूमा वर्षे बिदा भएकाले यस क्षेत्रका बासिन्दा तथा शिक्षक–विद्यार्थीहरू घुम्न निस्किन थालेका हुन्।
आर्थिक रूपमा सबल व्यक्तिहरू काठमाडौं, पोखरा, तानसेन, बुटवल, भैरहवा, लुम्बिनी, धरान, इलाम, झापा लगायतका स्वदेशी गन्तव्यहरूमा भ्रमण गरिरहेका छन्। यसका साथै भारतका विभिन्न तीर्थस्थलहरू जस्तै सुल्तानगञ्ज, देवघर, बासकीनाथ, कोलकाता, गंगासागर, ओडिशा राज्यको जगन्नाथपुरी लगायतका स्थानमा भ्रमण तथा पूजा अर्चना गर्नेको संख्यामा पनि वृद्धि भएको छ।
जिराभवानी गाउँपालिका वडा नम्बर २, सेढवाका बस सञ्चालक विजय यादवले साउन १० गते करिब ५० जना यात्रुहरूलाई लिएर भारतका विभिन्न स्थानको भ्रमणमा प्रस्थान गरेको बताए। उनले बिहार, झारखण्ड, पश्चिम बंगाल र ओडिशा राज्यका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने जानकारी दिए। यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतीय नम्बरको बस व्यवस्थापन गरी आज राति ओडिशा राज्यमा प्रवेश गर्ने र यात्रा १० दिनसम्म चल्ने बताए।
यसैगरी, पटेर्वासुगौली गाउँपालिकाको कार्यालयका योजना शाखा प्रमुख राजकुमार महतोले स्वदेशको प्युठान जिल्लामा रहेको स्वर्गद्वारीको भ्रमण गरी फर्किएको बताए। करिब ४०० किलोमिटर दूरीमा रहेको सो स्थानको भ्रमण मोटरसाइकलबाट गरेको र त्यहाँको मनमोहक दृश्यले मन आनन्दित भएको महतोले जानकारी दिए।
कतिपय यात्रुहरू भारतको दिल्ली, मुम्बई, गोवा, गोरखपुर, अयोध्या, कानपुर, गाजियाबाद, आगरा, लखनऊ, हरिद्वार, ऋषिकेश, दार्जिलिङ, सिक्किम तथा वैष्णोदेवीको दर्शनका लागि समेत जाने गरेका छन्।
वर्षभरि काम गर्नुपर्ने अवस्थाका कारण आर्थिक रूपमा सबल नरहेका सर्वसाधारणहरू भने कम खर्चिलो र नजिकका पर्यटकीय स्थलको भ्रमणमा निस्कने गरेका छन्। जिराभवानी गाउँपालिका अन्तर्गत रहेको बाबा बटेश्वर नाथ कावरिया संघको आयोजनामा भोलि बिहीबार पवित्र त्रिवेणी नदीबाट जल भर्न सयौंको संख्यामा श्रद्धालु भक्तजनहरू प्रस्थान गर्ने जनाइएको छ। यस एक हप्ताको यात्रामा नेपाल र भारतका गरी दुई दर्जन गाउँका ५०० भन्दा बढी यात्रुहरूको सहभागिता रहने र त्रयोदशीमा जिराभवानी मन्दिरमा जल चढाउने कार्यक्रम रहेको छ।
साथै, बिहीबार पटेर्वासुगौली गाउँपालिकाबाट १०० भन्दा बढी यात्रुहरू स्वर्गद्वारी भ्रमणका लागि प्रस्थान गर्ने थारु पत्रकार संघ नेपाल पर्साका अध्यक्ष शम्भु महतो थारुले बताए। उनका अनुसार, ५० वटाभन्दा बढी मोटरसाइकलमा यात्रुहरू भारतको बिहार राज्यको बाटो हुँदै परासी, लुम्बिनी हुँदै यात्रा गर्नेछन्। यसका अतिरिक्त, पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेका दुधेश्वर महादेव मन्दिर रामभौंरी भाथा र ठोरीको पनि भ्रमण गर्ने गरेको देखिन्छ।

















