१५ साउन, बारा । बारा जिल्लाको भलुही चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ती युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने व्यक्ति बारा जिल्ला, विश्रामपुर गाउँपालिका–१, निवासी मोबारक मियाका २२ वर्षीय छोरा अजमुल हक अंसारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले अंसारीलाई फेटा गाउँपालिका–१ स्थित भलुही नजिकै कलैयाबाट प्रसौनीतर्फ पैदल यात्रा गरिरहेको अवस्थामा रोकी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अंसारीको साथबाट दुईवटा अलग–अलग प्लास्टिकका पुरिया फेला परेको प्रहरीले जनाएको छ ।
एक पुरियामा ६०० मिलिग्राम सेतो रंगको सुख्खा पदार्थ र अर्को पुरियामा १४६ ग्राम ५८० मिलिग्राम तौल भएको लेदो पदार्थ फेला परेको छ, जुन प्रारम्भिक परीक्षणमा ब्राउन सुगर भएको आशंका गरिएको छ ।
पक्राउ परेका अंसारीलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

















