१५ साउन, वीरगञ्ज। वीरगञ्ज भन्सारमा भारतीय गाडीको दर्तामा विचौलियाको रूपमा काम गर्ने गिरोहमध्ये एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। नेपाल भित्रिने भारतीय गाडीको नक्कली कागजपत्र बनाएर भन्सार दर्तामा अवैध रकम असुली हुँदै आएको विषयमा पर्सा प्रहरीले अनुसन्धान थालेको हो।
भन्सारमा लामो समयदेखि विचौलियाको रूपमा काम गर्दै आएका वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने नितेश यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। उनी आठ दिनदेखि प्रहरी हिरासतमा छन् र उनीमाथि अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। विचौलियाको आरोप लागेका अर्का व्यक्ति अनिल यादव भने फरार रहेको एसपी मिश्रले बताए।
वीरगञ्ज भन्सारमा भारतबाट आउने पर्यटक र व्यापारीका गाडीलाई विभिन्न बहानामा विचौलियाको मिलेमतोमा भन्सारका कर्मचारीले दुःख दिने गरेको गुनासो गाडी चालकहरूले गरेपछि रेसखवरमा समाचार प्रकाशन भएको थियो। भन्सार कर्मचारीको मिलेमतोमा भारतीय गाडीधनीहरूलाई अनावश्यक दुःख दिने र अवैध रकम असुलीमा संलग्न विचौलियाहरूको बारेमा समाचार बाहिर आएपछि पर्सा प्रहरीले खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।
प्रहरीका अनुसार, फरार रहेका अनिल यादवको खोजीकार्य भइरहेको छ। स्रोतका अनुसार, अनिल यादवलाई वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेको संरक्षण रहेको छ। यसअघि यादवलाई प्रहरीले पक्राउ गर्दा भन्सार प्रशासक लामिछानेले नै छुटाएका थिए।
प्रहरी उपरीक्षक मिश्रले वीरगञ्ज भन्सार क्षेत्रभित्र सादा पोशाकमा समेत प्रहरी खटाइएको बताए। रक्सौलमा नक्कली कागजपत्र बनाउने र लेनदेनको सेटिङमा संलग्नहरूको समेत खोजीकार्य भइरहेको छ, उनले भने। प्रहरीले निगरानी बढाएपछि वीरगञ्ज भन्सारमा हुँदै आएको अवैध असुली धन्दा केही दिन देखि रोकिएको एक गाडी चालकले बताए।
स्रोतका अनुसार, वीरगञ्ज भन्सारमा करार सेवामा कार्यरत कर्मचारीको मिलेमतोमा विचौलिया समूहले भारतीय नम्बरका गाडी चालकलाई दुःख दिने गरेका थिए। रेसखवरमा समाचार प्रकाशन भएपछि विचौलियाहरूले वीरगञ्ज भन्सारभित्र कुनै गतिविधि नगरेको प्रहरीको भनाइ छ। भारतीय गाडी भन्सार गर्ने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज भन्सार नाकाबाट नेपाल भित्रिने भारतीय नम्बर प्लेटका गाडीहरूलाई भन्सार कटाउने नाममा विचौलियाहरूको एक संगठित गिरोहले दैनिक लाखौं रुपैयाँको अवैध असुली गर्दै आएको थियो। भारतीय नम्बरका गाडी लिएर नेपाल प्रवेश गर्ने पर्यटकका चालकहरूले आफ्नो गाडीको सक्कल ब्लुबुक (गाडीको स्वामित्व प्रमाणपत्र) नभएका बेला विचौलियामार्फत प्रतिगाडी १० देखि १५ हजार भारतीय रुपैयाँ तिरेपछि मात्र भन्सार पास हुने गरेको चालकहरूले बताएका थिए। वीरगञ्ज नाका भएर दैनिक ३ देखि ४ हजार भारतीय गाडी नेपाल भित्रिने गर्दछन्।
बारा पर्साका पर्यटन व्यवसायीहरुले भारतीय नम्वरका गाडी नेपाल प्रवेशमा वीरगञ्ज भंसारमा अनावश्यक दुख दिने गरेको गुनासो पर्यटकहरुले समेत गर्दै आएको होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए । धेरै पटक एसपी र सिडिओलाई भनियो तर भंसारमा पर्यटक माथि हुने दुब्यवहार रोकिएको छैन, पन्तले भने ।

















