१५ साउन, काठमाडौं । बुधबार बिहान रुसको सुदूरपूर्व नजिक प्रशान्त महासागरमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो । जुन इतिहासकै छैटौं ठूलो भूकम्प हो । कामचाट्का प्रायद्वीप नजिक केन्द्रबिन्दु रहेको यो भूकम्पलाई इतिहासकै छैटौँ सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । यसले जापान, हवाई, अमेरिकी पश्चिमी तट, चीन, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्यान्ड हुँदै पेरु, चिली र मेक्सिकोसम्म सुनामीको चेतावनी जारी गरिए पनि प्रारम्भिक डर जति गम्भीर प्रभाव भने परेन ।
भूकम्पपछि धेरै देशमा सुनामीको चेतावनी जारी गरिए पनि पछिल्लो विवरणअनुसार अधिकांश स्थानमा सुनामी सतर्कतालाई घटाएर ’सल्लाह’ स्तरमा झारिएको छ । हवाईमा प्रारम्भिक रूपमा १० फिटसम्मको छाल आउने चेतावनी दिइएको थियो, तर अहिले त्यसलाई पनि घटाइएको छ ।
रुसको सेभेरो–कुरिल्स्क सहरमा ४ मिटर (१३ फिट) अग्ला सुनामीका छालहरू भवनमा पसेर बन्दरगाह र माछा प्रशोधन केन्द्र डुबानमा परेका छन् । सखालिन क्षेत्रमा विद्युत् प्रसारण प्रणालीमा क्षति पुगेको र केही डुङ्गा बगेका छन् । तथापि, कामचाट्का र सखालिनका लागि जारी सुनामी चेतावनी हटाइएको छ ।
जापानमा करिब १९ लाख मानिसलाई उच्च स्थानमा जान आग्रह गरिएको थियो, तर त्यहाँको मौसम विभागले पनि सबै सुनामी चेतावनीलाई ’सल्लाह’ स्तरमा झारेको छ । हवाईमा पनि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको छ, यद्यपि केही बलिया छाल र डुबानको जोखिम भने बाँकी रहेको बताइएको छ ।
यो भूकम्प ८ दशमलव ८ म्याग्निच्युडको भए पनि जनघनत्व कम भएको कामचाट्का क्षेत्रमा आएकाले मानवीय क्षति तुलनात्मक रूपमा न्यून देखिएको छ । अहिलेसम्म मानव मृत्युको पुष्टि भएको छैन, तर केही सामान्य घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ ।
अमेरिकी भूगर्भ विभागका अनुसार यो भूकम्प २० दशमलव ७ किमी गहिराइमा गएको थियो । सुरुमा ८ दहमलव ० म्याग्निच्युडको रूपमा मापन गरिए पनि पछि यसलाई बढाएर ८ दशमलव ८ म्याग्निच्युड तोकिएको हो । यो भूकम्प सन् २०१० को चिलीको बिओबिओ भूकम्प र सन् १९०६ को इक्वेडरको एस्मेराल्डास भूकम्पसँग बराबरीमा छ ।
सन् १९५२ मा रुसकै कामचाट्का क्राय क्षेत्रमा आएको ९ म्याग्निच्युडको भूकम्प इतिहासको पाँचौँ ठूलो भूकम्प थियो । अहिलेसम्मकै शक्तिशाली भूकम्प भने सन् १९६० मा चिलीको बिओबिओमा गएको ९ दशमलव ५ म्याग्निच्युडको भूकम्पलाई मानिन्छ । सन् २००४ को ९ दशमलव २ देखि ९ दशमलव ३ म्याग्निच्युडको हिन्द महासागर भूकम्पले २ लाख २७ हजारभन्दा बढीको ज्यान लिएको थियो, तर त्यस क्षेत्रको उच्च जनघनत्वले गर्दा क्षति भयावह भएको थियो ।

















