१५ साउन,काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ३९९ जना घाइते भएका छन्। यससँगै अक्टोबर ७ देखि सुरु भएको इजरायली आक्रमणमा मारिनेको कुल संख्या कम्तीमा ६०,१३८ पुगेको छ। यी आक्रमणहरूमा करिब १ लाख ४६ हजार मानिस घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा मारिएका धेरै मानिसहरूको शव अझै पनि भग्नावशेषमा पुरिएको र धेरै घाइतेहरू सडकमा अलपत्र परेको जनाइएको छ। एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू ती घाइतेहरूसम्म पुग्न कठिनाइ भइरहेको मन्त्रालयले बताएको छ।
यसैबीच, गाजामा जारी खाद्यान्न अभावका कारण थप सात जनाको कुपोषणले मृत्यु भएको पुष्टि भएको छ। यससँगै कुपोषणका कारण ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ, जसमा ८९ जना बालबालिका रहेका छन्। मानवीय संस्थाहरूले गाजामा गम्भीर खाद्यान्न संकट रहेको र यसले थप मानवीय संकट निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

















