प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ साउन,वीरगञ्ज । भारतीय मूलका निरन्जन कुमार अग्रवालले नेपाली नागरिकताको दुरुपयोग गरी करोडौं रुपैयाँको अवैध सम्पत्ति आर्जन गरेको प्रकरण सार्वजनिक भएको छ। पर्सा जिल्ला अदालतमा बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार, अग्रवालले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेका थिए। उनले श्रीमती रितुदेवी अग्रवाललाई पनि वैवाहिक अंगीकृत नागरिकता दिलाएका छन्। त्यसपछि दम्पत्तिले विभिन्न नाममा जग्गा, बैंक खाता, शेयर लगायतका सम्पत्ति किनेर ठूलो मात्रामा अवैध सम्पत्ति जम्मा गरेको खुलेको छ।

अनुसन्धानमा अग्रवालले आफ्नो नाम मात्र नभएर श्रीमती र अन्य व्यक्तिहरूको नाममा समेत सम्पत्ति किनेर राखेको तथ्य फेला परेको विभागले जनाएको छ। बिगो कायम गरिएको रकम कुल ५१ करोड ११ लाख ९५ हजार ७० रुपैयाँ ८ पैसा पुगेको छ।

विभागले अग्रवाललाई मनी लन्डरिङ निवारण ऐन, २०६४ अनुसार सजायको माग गर्दै सम्पूर्ण अवैध सम्पत्ति जफत गर्न र अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति रकम जम्मा गर्न माग गरेको छ।

यो प्रकरणले नेपाली नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता पुष्टि गरेको छ।


सम्बन्धित समाचार