प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१६ साउन, काठमाडौं। विगतका चर्चित ‘गुण्डा नाइके’ चक्रे मिलन, जसको वास्तविक नाम मिलन गुरुङ हो, उनलाई प्रहरीले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको छ।

उनी आफ्नो जन्मदिनको पार्टी मनाइरहेका बेला होटल साम्बालाबाट पक्राउ परेका हुन् ।

के थियो घटना?

चक्रे मिलनका समर्थकहरूले दुई दिनअघिदेखि नै उनको जन्मदिन मनाइरहेका थिए । बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखिएका थिए, जहाँ उनले सहयोग माग्नेहरूलाई पैसा बाँडेका थिए । त्यसपछि, ठमेलमा उनले केही चर्चित र्यापरहरूसँग भेटघाट गरेका थिए। प्रहरीका अनुसार, उनले एउटै ठाउँमा २० वटासम्म केक काटेका थिए । अपराह्नतिर, उनको समूहले गाडीहरूको लस्करसहित उनलाई महाराजगञ्जसम्म ‘स्कर्टिङ’ गरेको थियो। यसको सूचना प्रहरीको जिल्ला परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय दुवैलाई पुगेको थियो ।

यद्यपि, पछिल्लो समय चक्रे मिलनको कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएकाले प्रहरी अधिकारीहरू अलमलमा थिए। तर, राति अबेरसम्म होटलमा होहल्ला भएको सूचना आएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

पक्राउ र कानुनी प्रक्रिया

सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा चक्रे मिलनलाई पक्राउ गरिएको हो। उनीसँगै पार्टीमा सहभागी भएका करिब ५० जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरूविरुद्ध के कसुरमा मुद्दा चलाउने भन्नेबारे भने अझै टुङ्गो लगाएको छैन। यस्तै खालका घटनामा यसअघि पनि प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही प्रक्रिया अघि बढाएको थियो, तर सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेपछि आरोपीहरू छुटेका थिए।

गुण्डा नाइके र राजनीति

नेपालमा पछिल्लो समय गुण्डागर्दी पृष्ठभूमिका व्यक्तिहरूले राजनीतिमा प्रवेश गरी आफ्नो छवि सुधार्ने प्रयास गरिरहेको देखिन्छ । उदाहरणका लागि, दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री बनेका थिए, गणेश लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् भने दावा लामा गाउँपालिकाको उपाध्यक्ष बनेका छन्। तर, अहिले ज्यान मार्ने उद्योगको कसुरमा मनाङे जेलमा छन् ।

यसअघि, दिनेश अधिकारी ‘चरी र कुमार घैंंटे जस्ता केही गुण्डा नाइकेहरूको प्रहरीसँगको ‘मुठभेड’ मा मृत्यु भएपछि उपत्यकामा हुने गुण्डागर्दीमा कमी आएको प्रहरी अधिकारीहरू बताउँछन्। पछिल्लो समय प्रहरीले यस्ता व्यक्तिहरूमाथि निगरानी बढाएको देखिन्छ। केही समयअघि मात्रै सानुभाइ भनिने युवराज गुरुङ पनि ठमेलको दोहोरी साँझबाट पक्राउ परेका थिए।


सम्बन्धित समाचार