१६ साउन, काठमाडौं। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा राष्ट्रसंघको एउटा प्रमुख अंग आर्थिक तथा सामाजिक परिषद् इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन्।
नेपालको लागि यो एक ऐतिहासिक क्षण हो, किनकि संयुक्त राष्ट्रसंघको सदस्य बनेको ७० वर्षपछि नेपालले पहिलोपटक यस्तो महत्त्वपूर्ण पदमा जिम्मेवारी पाएको छ। बिहीबार पदभार ग्रहण गर्दै राजदूत थापाले अहिलेको विश्व द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक अनिश्चितता र गहिरिँदो असमानता जस्ता बहुआयामिक संकटबाट गुज्रिरहेको बताए। उनले यस्तो परिस्थितिमा इकोसकको भूमिका अझै बढी महत्त्वपूर्ण रहेकोमा जोड दिए।
इकोसक संयुक्त राष्ट्रसंघका ६ वटा मुख्य अंगमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक सहकार्यका क्षेत्रमा काम गर्छ। यसले विकास, मानवअधिकार, र अन्य सामाजिक विषयमा काम गर्ने राष्ट्रसंघका निकायहरूको कामलाई समन्वय गर्छ। थापाले आफ्नो कार्यकालमा ‘कोही पनि पछि नछुट्ने’ कुरा सुनिश्चित गर्दै विश्वको विकास एजेन्डालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले इकोसकलाई सबै सदस्य राष्ट्र र सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक पर्ने साझा मञ्चको रूपमा विकास गर्ने बताएका छन्।

















