Logo

१६ साउन,काठमाडौं। ललितपुरस्थित पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पतालको क्षमता विस्तार गरी १,२०० शय्यामा स्तरोन्नति गरिने भएको छ। हाल ६०० शय्यामा सीमित रहेको अस्पताललाई बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै विस्तार गर्न लागिएको हो।

वन तथा वातावरण मन्त्रालयले अस्पतालको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनसम्बन्धी रायसुझाव संकलन गरिरहेको छ। मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न भौतिक पूर्वाधारलाई वातावरणीय दृष्टिकोणबाट उपयुक्त बनाउनुपर्ने सुझाव दिएको छ।

ललितपुर महानगरपालिका–५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको पाटन अस्पतालमा हाल दैनिक २ हजार बिरामीले ओपिडी सेवा लिन्छन् भने ६०० बिरामी भर्ना भएर उपचार गराइरहेका छन्। प्रतिष्ठानका रजिस्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको चापलाई सम्बोधन गर्न क्षमता विस्तार आवश्यक भएको बताएका छन्।

करिब १० अर्ब रुपैयाँको लागतमा बन्ने नयाँ भवन आठ तलाको हुनेछ, जसमा डबल बेसमेन्टको सुविधा पनि रहनेछ। नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा ज्योतिप्रसाद गजुरेलका अनुसार यो भवन वातावरणमैत्री हुनेछ। यसका लागि फोहोर र ट्राफिक व्यवस्थापन, तथा वातावरणमैत्री संरचनालगायतका पक्षमा अध्ययन गरिएको छ।


सम्बन्धित समाचार