१६ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।
यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा उहाँ त्यहाँ जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्बोधन गर्नुका साथै एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता पनि गर्नुहुनेछ। यसै क्रममा उहाँले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुहुनेछ। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

















