१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीका आन्तरिक असमझदारीका कुराहरू सार्वजनिक रूपमा बोलेको भन्दै आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा बोल्ने अधिकांश नेताहरूले शर्माको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका हुन् ।
बैठकमा उपस्थित २५ जना नेतामध्ये धेरैले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको बचाउ गर्दै अहिले नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका छन् । शर्माको पक्षमा रहेका भनिएका केही नेताहरूले समेत यसपटक उहाँको अभिव्यक्तिको आलोचना गरेका छन् ।
उपमहासचिव शर्माले आफूले एमालेका नेताहरूलाई लक्षित गर्दै अभिव्यक्ति दिएको र अध्यक्ष प्रचण्डलाई नभनेको भन्दै आफ्नो बचाउ गरेका थिए। तर, उहाँको यो भनाइप्रति पनि नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्थायी कमिटी सदस्य गणेशमान पुनले शर्माले पार्टीबाट धेरै अवसर पाए पनि केही गर्न नसकेको आरोप लगाउँदै प्रश्न गरे, “उहाँले पार्टीबाटै यत्रो अवसर पाउनुभयो, अवसर पाउँदा के विचार निर्माण गर्नुभयो त?” त्यस्तै, अर्का स्थायी कमिटी सदस्य पूर्ण सुवेदीले शर्माको अभिव्यक्तिले पार्टीभित्र सांगठनिक अराजकता बढेको टिप्पणी गरिन् ।
बैठकमा नेताहरूले अध्यक्ष प्रचण्डको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उहाँको विकल्प खोज्नु पार्टीका लागि हितकर नहुनेमा जोड दिएका छन् । स्थायी कमिटी सदस्य खगराज भट्टले, “वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक रूपमा पनि प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन,” भन्दै शर्माले आत्मालोचना गर्नुपर्ने बताए ।
त्यसैगरी, विजय प्रकाश सैंजुले प्रचण्ड नभएको भए पार्टी यहाँसम्म आइपुग्दैनथ्यो भन्दै नेतृत्वको बचाउ गरे । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक कुराहरू भित्रै राख्न र सरकार बनाउने वा भत्काउने विषयमा नलाग्न आग्रह गरेका थिए । उपमहासचिव वर्षमान पुनले पनि आन्तरिक मतभेदलाई बाहिर बोल्दा विरोधीहरूले खेल्ने मौका पाउने कुरामा जोड दिएका छन् । पार्टीभित्र बढ्दो आन्तरिक दबाबका बीच माओवादीको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहनेछ।















