Logo

१८ साउन, वीरगञ्ज। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पर्सा मालपोत कार्यालयका प्रमुख अशोक कुमार भट्टराईलाई पाँच महिनामै वीरगञ्जबाट ललितपुर सरुवा गरेको छ।

भूमाफिया र विचौलियाले मुख्य चारवटा कामको लागि भट्टराईलाई पर्सा मालपोतमा सरुवा गराएका थिए। तीमध्ये एउटा काम पूरा भए पनि तोकिएको महत्त्वपूर्ण जिम्मेवारी पूरा हुन नसक्ने देखिएपछि उनको सरुवा भएको हो।

मन्त्रीको पद धरापमा परेपछि हतारको सरुवा

काठमाडौँमा भूमाफियाको रूपमा ख्याति कमाएका प्रमोद खड्काको योजनामा भट्टराईलाई ललितपुर मालपोतमा सरुवा गरिएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको मन्त्रीपद जाने निश्चित भएपछि हतारमा भट्टराईसहित देशभरका मुख्य कमाउने अड्डामा कार्यालय प्रमुख फेरिएका छन्।

भट्टराईले भने आफूले पर्सामा राम्रो काम गरेकोले मन्त्रालयले पुरस्कारस्वरूप ललितपुर अड्डामा सरुवा गरेको हुन सक्ने बताए। पोखरीयामा शाखा सञ्चालनमा अवरोध थियो, मैले त्यसलाई सहज रूपमा काम गरेँ, उनले भने। प्रमोद खड्कासँग आफ्नो कुनै चिनजान नरहेको समेत उनले दाबी गरे।

स्काईलाइन महललाई घेराबन्दी गर्ने योजना

वीरगञ्जको मुटुमा रहेको सुविधासम्पन्न स्काईलाइन महल लगायत बैंक, होटल र विभिन्न व्यक्तिको जग्गामा किचलो खडा गरी करोडौँ रुपियाँको बार्गेनिङ गर्ने भूमाफिया र विचौलियाको समूहले तत्कालीन मन्त्री राजकुमार गुप्ता र मन्त्री बलराम अधिकारीको सहयोगमा भट्टराईलाई मालपोत कार्यालय पर्सामा सरुवा गराएको स्रोतको भनाइ छ।

पर्सा मालपोत प्रमुख भट्टराईले भूमाफियाको योजनाअनुसार नै स्काईलाइन महललाई लक्षित गरी महलका सञ्चालकलाई पासोमा पार्न २१ दिने सूचना जारी गरेको आरोप पीडित जग्गाधनीहरूको छ। विचौलियाको योजनाअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले केडियाको पक्षमा मन्त्रालयबाट पत्र पठाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गरेर पत्र काट्न लगाइएको हुन सक्ने पीडित जग्गाधनीहरूको भनाइ छ।

स्काईलाइन महललाई चौतर्फी घेराबन्दीमा पार्ने उद्देश्यले सर्लाही घरभएका पूर्व नापी कर्मचारी सञ्जय कुमार ठाकुरले रुक्मिणी देवी केडियाको नाममा रहेको औचित्यहीन कित्ता १४ र १५ लाई उपयोग गर्ने रणनीतिक योजनाअनुसार प्रदीप केडियाको परिवारलाई प्रयोग गरेको देखिन्छ।

भट्टराईको सरुवामा भूमाफियाको संलग्नता

महलमा एकातर्फ निखत प्रविन र अर्कोतर्फ रुक्मिणी देवी केडियाको जग्गा रहेको किचलो बाहिर ल्याएर कानूनी दाउपेचमा लागेका ठाकुरले तत्कालीन मन्त्री राजकुमार गुप्ताको सहयोगमा भट्टराईलाई पर्सा मालपोतमा सरुवा गरेको विभिन्न व्यक्तिलाई भन्दै हिँडेका थिए। प्रदीप केडियाले पनि भट्टराई आफ्नो टिमको योजनामा वीरगञ्ज ल्याइएको बताउँदै हिँडेको उनका एक सहपाठीले रेसखवरलाई बताए।

नेपाल सरकारले अधिग्रहण गरी पशुपति आर्दशनगर निर्माण समितिले प्लट बनाएर बिक्री गरेको जग्गामा विचौलिया समूहले राज्यका निकायको सहयोगमा किचलो गर्दै आएको छ। वर्षौंअगाडि नै कानूनी प्रक्रियाबाट टुङ्गिएका र नयाँ नापीले कित्ता नम्बरसमेत कायम गरिसकेका जग्गाका पुराना श्रेस्ताहरूलाई आधार बनाएर विचौलिया समूहले पटक-पटक गैरकानूनी बार्गेनिङ गरी महल सञ्चालनमा अवरोध पुर्‍याउन खोजेको महल सञ्चालकको भनाइ छ।

चार कामको योजना, एकमा मात्र सफलता

वीरगञ्जको स्काइलाइन महलसँग करोडौँको बार्गेनिङ गरेको विचौलिया समूहका नाइके सञ्जय कुमार ठाकुर महल सञ्चालकबाट हप्की खाँदै रित्तो हात फर्किएको पीडाले महललाई अप्ठ्यारोमा पार्ने अर्को दाउमा लागेका थिए। उनकै योजनाअनुसार साविक श्रीपुर वडा नं. ९ मा रुक्मिणी देवी केडियाको नाममा रहेको निष्क्रिय कित्ता नं. १४ र १५ लाई आधार बनाएर मालपोत कार्यालयमार्फत बार्गेनिङ बढाउन सकिने योजना लिएर तत्कालीन सङ्घीय मामिला मन्त्री राजकुमार गुप्तामार्फत मन्त्री बलराम अधिकारीकहाँ पुगेका थिए।

काठमाडौँमा भूमाफियाको रूपमा चर्चित प्रमोद खड्काले अशोक कुमार भट्टराईलाई २०८१ पुसको दोस्रो हप्तामा मालपोत कार्यालय ललितपुर सरुवा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग सेटिङ मिलाएका थिए। तर, तत्कालीन मन्त्री राजकुमार गुप्ताले असारसम्म वीरगञ्ज गएर केही महत्त्वपूर्ण काम गर्नुपर्ने भएकोले भट्टराईलाई पर्सा मालपोत पठाउन मन्त्री अधिकारीलाई आग्रह गरेको एक प्रत्यक्षदर्शीले रेसखवरलाई बताए।

मालपोत प्रमुख भट्टराईलाई चारवटा कामको लागि भूमाफियाले वीरगञ्ज ल्याएको स्रोतको दाबी छ। पहिलो काम स्काइलाइन महलसँगको किचलोमा साविक कित्ता नं. १४ र १५ भित्र पर्ने जग्गाधनीलाई २१ दिने सूचना जारी गर्ने। सोही सूचनाका आधारमा हकभोग दाबी गर्ने जग्गाधनी र किचलो गर्ने रुक्मिणी केडियालाई विवाद निरूपण गरी हकभोग कायम गर्न अदालत जाने बाटो खोलिदिने।

पहिलो काम फत्ते गरेमा मालपोत प्रमुख भट्टराईलाई ५० लाख किस्ताबन्दीमा दिने आश्वासन भूमाफिया समूहले दिएको स्रोतको भनाइ छ। यसमा पनि २१ दिने सूचना जारी गरेबापत १५ लाख दिने शर्त गरिएको थियो, तर माफियाले तत्काल रकम जुटाउन नसकेको भन्दै १२ लाख मात्र दिएको स्रोतले बतायो। २१ दिने सूचना जारी गरेपछि मालपोत प्रमुख भट्टराईको चौतर्फी आलोचना भयो।

महानगरको पत्रपछि योजना अलपत्र

वीरगञ्ज महानगरपालिकाले उक्त जग्गा नेपाल सरकारले अधिग्रहण गरेर पशुपति आर्दशनगर निर्माण समिति मार्फत प्लट बनाएर विभिन्न व्यक्तिलाई बिक्री गरिएको भन्दै मालपोत कार्यालय पर्सालाई औचित्यहीन कित्ता नं. १४, १५ र १०५ खारेज गर्न लिखित अनुरोध गरेपछि मालपोत प्रमुख भट्टराईले भूमाफियाको योजनाअनुरूप हकभोग कायमका लागि अदालत पठाउन नसक्ने अवस्था देखेका थिए।

महानगरपालिकाले आफैँले बिक्री गरेको जग्गा भएको दाबीसहित नक्सा र प्रमाण नै पेश गरेकोले विवादित कित्ता खारेज गर्नेबाहेक अर्को विकल्प नभएको मालपोत प्रमुख भट्टराईले बताए। उनले भने, “म कसैको योजनामा वीरगञ्ज आएको होइन, र कुनै व्यक्तिसँग रकम लिएको पनि छैन।

केडियाले मागदावी गरे जस्तो सजिलै कित्ता नं. १४ र १५ ब्युँतिने अवस्था नदेखिएको भट्टराईले बताए। प्रदीप केडियाका हजुरबा बृजलाल केडियाको उपस्थितिमा भएको जग्गा अधिग्रहण र विक्री वितरणको २०२९ सालको निर्णयबाट कित्ता नं. १४ र १५ को कुनै औचित्य नदेखिएको भट्टराईको भनाइ थियो।

भट्टराईले गर्न नसक्ने बताएपछि विचौलिया समूहमा भने रुवाबासी सुरु भएको छ। स्काईलाइन महलको जग्गा हत्याउन केडियाले एक करोडभन्दा बढी रकम विभिन्न निकायमा खर्च गरेको स्रोतको भनाइ छ।

पुरस्कारस्वरूप ललितपुर सरुवा

देशभर चर्चित मालपोत कार्यालयको रूपमा रहेको ललितपुरको प्रमुखको जिम्मेवारी पुरस्कारस्वरूप भट्टराईले पाएको आरोप उनका सहकर्मीहरूले लगाउने गरेका छन्। भट्टराईले भने पोखरीयामा मालपोत कार्यालय स्थापना गर्न तत्कालीन मन्त्रीले आफूलाई जिम्मेवारी दिएको र त्यो काम सफल भएपछि राम्रो अड्डामा पठाउने भनेकाले ललितपुर पठाइएको हुन सक्ने बताए।

विचौलियाहरूले उनलाई वीरगञ्ज ल्याएपछि चारवटा मुख्य काम गराउने योजनामा थिए। त्यसमध्ये स्काइलाइन महलसँग जोडिएको किचलोमा २१ दिने सूचना जारी गर्ने काम मात्र पूरा भएको छ। अर्को २१ दिनको म्यादपुर्जी काटिएका १६ जना जग्गाधनीले हकभोगको दाबी गर्न अदालत जाने बाटो खोलिदिने योजना भने अलपत्र परेको छ।

त्यसैगरी तेस्रो नम्बरमा गीता मन्दिरको विवादित जग्गामा मन्दिरका संरक्षकलाई वैधानिक रूपमा कमर्सियल काम गर्न पाउने गरी बाटो खोलिदिने र चौथो जुद्ध म्याच फ्याक्ट्रीको जग्गाको स्वामित्व नारायण चिलुवालका छोरीहरूको नाममा कायम गराउने योजना थियो। यी सबै योजनामा विचौलियाको रूपमा सञ्जय कुमार ठाकुरले काम गरेका छन्।

पर्सा मालपोत प्रमुख अशोक कुमार भट्टराईको ललितपुर सरुवा भएपछि, वीरगञ्जमा रहेको भूमाफिया समूहमा खैलाबैला मच्चिएको छ। उनलाई जुन प्रयोजनका लागि वीरगञ्ज ल्याइएको थियो त्यो पूरा हुन नसक्दा उनीहरूलाई आर्थिक रूपमा समेत झड्का लागेको स्रोतको दाबी छ। प्रमुख भट्टराईले भने आफूले कुनै व्यक्ति वा समूहसँग कुनै प्रकारको लेनदेन र सम्झौता नगरेको दाबी गरे। भट्टराईको ठाउँमा मालपोत कार्यालय धादिङका प्रमुख खेमराज खत्रीलाई पर्सा सरुवा गरिएको छ।


सम्बन्धित समाचार