नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अर्को क्रान्ति र नयाँ विद्रोहको आवश्यकता रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीदहरूको सम्झनामा आयोजित एक कार्यक्रममा उनले यो कुरा व्यक्त गरेका हुन्। प्रचण्डले आफू अहिलेसम्म जीवित रहनुको मुख्य कारण नै अर्को क्रान्ति गर्ने उद्देश्य रहेको बताए। उनले भने, ‘मलाई जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभा हुँदै यहाँसम्म अझै पनि जीवित रहन सकेको र नेतृत्वमा भइराखेको कारण पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिरहेका छौँ।’
प्रतिक्रियावादीविरुद्ध एकजुट हुने आह्वान
प्रचण्डले प्रतिक्रियावादीहरूले निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरे। उनले शान्ति प्रक्रियाका बाँकी कामहरूमा पनि चलखेल भइरहेको दाबी गरे र सबैलाई चनाखो रहन आग्रह गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवस मान्नुपर्नेमा जोड दिए। उनले यो विषय अदालत प्रवेश गर्ने विषय नभएको बताउँदै यसलाई राष्ट्रिय दिवसकै रूपमा मनाउनुपर्ने धारणा राखे।















