नेकपा माओवादी केन्द्र दोलखाले दोलखाको बोत्लेमा राज्य पक्षबाट मारिएका १५ जनाको सम्झनामा ‘बोत्ले स्मृति दिवस’ मनाएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा २३ औं बोत्ले स्मृति दिवस मनाइएको हो । उक्त कार्यक्रममा शहीद र घाइते परिवारहरूलाई सम्मान गरिएको छ । २०५९ साल साउन १७ गते मध्यरातमा घेरा हाली १८ गते विहान सबेरै ७ महिला सहित १५ जना माओवादीको सामूहिक हत्या भएको थियो ।
शहीद पनि वर्गीय हुन लाग्यो
कार्यक्रममा बोल्दै बोत्ले घटनामा आफ्नी पत्नी गुमाएका दोलखाका नेता शंकर लामा भावुक हुँदै शहीदहरूको सम्मानमा विभेद भएको गुनासो पाखेका छन् ।
उनले शहीद पनि वर्गीय हुन लागेको, हुनेखाने, टाठोबाठो, नेताहरूको परिवारको शहीदहरुको सम्झना रहेपनि साधारण शहीद भएको वास्ता नभएको गुनासो गरेका छन् । उनले सबै शहीदको अभिलेख राखेर उनीहरूको स्मृति दिवस मनाउन पार्टीलाई आग्रह आग्रह पनि गरेका छन् ।
लामाले गरे पार्टीको आन्तरिक विवाद र नेतृत्वमाथि प्रश्न ?
लामाले पार्टीभित्रको गुटबन्दीले शहीद परिवार र कार्यकर्ताहरूलाई निराश बनाएको बताएका छन् । उनले नेताहरूलाई पदको लोभी नबन्न पनि सुझाव दिएका छन् । पार्टी कमिटी भद्दा भएकोमा रोष प्रकट गर्दै उनले पदलोलुप हुनु नहुनेमा जोड दिएका छन् । लामाले जनयुद्धको समयमा राज्य पक्षबाट भएका हत्यालाई मिडियाले बाहिर नल्याएको र माओवादीले मात्रै १७ हजार मानिस मारेको भनी गलत प्रचार गरिएको आरोप पनि लगाएका छन् । २०५९ साउन १८ गते मध्यरातमा दोलखाको बोत्लेमा राज्य पक्षले तत्कालीन माओवादीका कार्यकर्ताहरूलाई घेरा हालेर हत्या गरेको थियो ।
कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, गंगा नारायण श्रेष्ठ लगायत दोलखाका नेताहरुको सहभागीता थियो ।















