१८ साउन, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक १७ वर्षीया किशोरीको हत्या भएको छ।
बर्दगोरिया गाउँपालिका–३ की याचना सेजुवाल को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय निरज साउद लाई प्रहरीले पक्राउ गरेको छ। निरज र याचना दुवै जना बर्दगोरिया–१ को ‘राजधानी सेकुवा एन्ड मःम सेन्टर मा काम गर्थे। निरज कुक थिए भने याचनाले १५ दिनअघि मात्रै वेटरको काम सुरु गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार सोही होटलको भान्सा कोठामा निरजले याचनाको घाँटीमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी याचनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भेटघाटको छोटो अवधिमै उनीहरु प्रेममा रहेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा निरजले आफूहरू प्रेम सम्बन्धमा रहेको र छिट्टै विवाह गर्ने सहमति भएको बयान दिएका छन्। शनिबार बिहान भान्सामा उनीहरूबीच सामान्य विवाद भएको थियो। निरजका अनुसार याचनाले फोनमा अरूसँग कुरा गरेको विषयलाई लिएर विवाद भएको थियो।
निरजले ‘त्यसो नगर्नु’भन्दा याचनाले ‘कुरा पनि गर्न नहुने? भन्ने जवाफ फर्काएपछि निरजले भान्सामा रहेको चक्कुले आक्रमण गरेको बयान दिएका छन् । प्रहरीका अनुसार निरजका दुई छोरी छन् र उनले आफ्नी श्रीमतीसँग कानुनी रूपमा सम्बन्धविच्छेद भएको बताएका छन्। निरजले आफ्नो यो पृष्ठभूमिबारे याचनालाई पनि जानकारी गराएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि निरजलाई म्याद थप गरी कारबाही अगाडि बढाइनेछ।















