१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ले पार्टी स्थायी कमिटीको बैठकमा आफू देश र जनताका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
उनले बैठकमा आफू आत्मालोचना गर्न तयार रहेको तर पार्टीमा उत्पन्न समस्याको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पनि लिनुपर्ने धारणा राखेका छन् । शर्माले पार्टीलाई सही दिशामा ल्याउनका लागि विशेष महाधिवेशन को आवश्यकता रहेको बताएका छन्। उनले अध्यक्ष प्रचण्डले दिएका सार्वजनिक अभिव्यक्तिहरूले कार्यकर्तालाई भ्रमित गरेको र पार्टी निर्माणका एजेन्डाहरूलाई विषयान्तर गरेको आरोप लगाए।
उनले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात् गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो। अब बहस खुल्ला गर्नुपर्छ।’
सुशासनको अभियान र दुई–बुँदे सहमति
उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरु भएको सुशासनको अभियानलाई प्रचण्डले कांग्रेस र एमालेसँगको दुई–बुँदे सहमतिमा लगेर बिसाएको आरोप पनि लगाए। उनले अध्यक्षले पार्टीको निर्णय विपरीत सरकारको खेलमा समय खर्च गरेको बताएका छन्।
पार्टीभित्रको समस्या र समाधान
शर्माले पार्टीभित्रको समस्याको मुख्य कारण वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र विधि(प्रणालीमा आएको संकट भएको औँल्याए । उनले समाधानका लागि विचारको बहस, राजनीतिक लाइनको स्पष्टता र स्थायी संरचना को निर्माणमा जोड दिए। उनले पार्टीलाई स्वचालित र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै विशेष महाधिवेशनमार्फत यी सबै समस्याको समाधान गर्न सकिने बताए ।
शुक्रबारदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरूले शर्मालाई आत्मालोचना गर्न सुझाव दिएका थिए। पछिल्लो समय अध्यक्ष प्रचण्ड र शर्माबीचको अन्तरविरोध सार्वजनिक रूपमा नै देखिएको छ।















