Logo

१८ साउन, काठमाडौं । गृह मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई खटाइएको स्थानमा २४ घण्टाभित्र हाजिर हुन दिएको निर्देशन कर्मचारीहरूले पालना गरेका छैनन् ।

मन्त्रालयले बिहीबार यो उर्दी जारी गरेको भए पनि आइतबारसम्म कुनै पनि कर्मचारी खटिएको ठाउँमा गएका छैनन्। निर्देशनको अवज्ञा भएपछि मन्त्रालयले अब हाजिर नभएका कर्मचारीहरूको हाजिरीमा ‘रातो’ लगाउन सुरु गरेको छ। मन्त्रालयले शुक्रबार वेभ पोर्टलमा १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बाको नाम सार्वजनिक गर्दै २४ घण्टाभित्र खटाइएको स्थानमा जान निर्देशन दिएको थियो।

यी कर्मचारीहरूमा असार १६, असार १८, र साउन ७ गते सरुवा भएका शाखा अधिकृतहरू तथा साउन १८ गते सरुवा भएका नायब सुब्बाहरू सामेल छन्। उनीहरू निर्देशन कार्यान्वयन गर्नका सट्टा आइतबार पनि मन्त्रालयमै बसेर दबाब दिइरहेका छन्। निर्णय कार्यान्वयन नगर्ने कर्मचारीहरूमा अधिकांश निजामती कर्मचारी सङ्घ सँग सम्बद्ध रहेको पाइएको छ। यो सङ्घ नेपाली कांग्रेस निकट कर्मचारीहरूको संस्था हो। हाल गृह मन्त्रीमा पनि नेपाली कांग्रेसका नेता रमेश लेखक रहेका छन्।


सम्बन्धित समाचार