१९ साउन, वीरगञ्ज । देशका विभिन्न जिल्लामा लागेर तीन जनाको मृत्यु भएको छ । सर्लाही, रौतहट र बैतडीमा छुट्टाछुट्टै घटनामा करेन्ट लाग्दा दुई पुरुष र एक महिलाको ज्यान गएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–९, खोरिया निवासी ३८ वर्षीय दिनेश ठाकुरको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । बरहथवा नगरपालिका–१५, पिपरा भिट्टास्थित एक वर्कसपमा ग्रिलको काम गर्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्कालै नगर अस्पताल बरहथवामा पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भयो ।
यस्तै रौतहटको ईशनाथ नगरपालिका–४, महुलिया टोल निवासी ५० वर्षीया समिला खातुनको धानबारीमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनी शनिबार दिउँसो धान गोड्दै गर्दा मोटरमा जडान गरिएको विद्युत् तारबाट करेन्ट लागेको थियो । गम्भीर घाइते अवस्थामै उनलाई प्रादेशिक अस्पताल, गौर लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भयो ।
यसैगरी बैतडीको डिलासैनी गाउँपालिका–३, गिरिबगर निवासी १३ वर्षीय किरण कोलीको पनि करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो डिन्नीगढ खोलामा बालुवा संकलन गर्ने क्रममा उनी विद्युतको पोलमा छोइएर करेन्ट लागेर घाइते भएका थिए । उनलाई गोकुलेश्वरस्थित मालिकार्जुन अस्पताल पुर्याइएको थियो तर उपचार सफल हुन सकेन ।
नेपाल प्रहरीले करेन्टसँग सम्बन्धित उपकरणको प्रयोगमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षायाममा विद्युत सञ्जाल, पोल र नांगो तारको नजिक सावधानीपूर्वक बस्न प्रहरीले आग्रह गरेको छ ।

















