१९ साउन, वीरगञ्ज । सप्तकोशी नदीमा पानीको बहाव तीव्र भएपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ। आज (सोमबार) बिहान गरिएको मापन अनुसार कोशी ब्यारेज हुँदै प्रति सेकेन्ड १ लाख ७५ हजार ६८५ क्यूसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
यसअघि हिजो आईतबार बेलुका बहाव अझ बढी थियो, प्रति सेकेन्ड १ लाख ९१ हजार २१० क्यूसेक पानी मापन गरिएको थियो । हाल ५२ मूल ढोका र ४ नहर मिलाएर ५६ ढोकामध्ये २३ वटा खोलिएको थापाले जानकारी दिए ।
खतरा संकेतस्वरूप रातो बत्ती बालियो
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार, पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि सम्भावित जोखिमबारे सतर्क गराउन रातो बत्ती बाल्ने व्यवस्था गरिएको छ । अहिले रातो बत्ती बालिएको र नजिकका बस्तीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।
इतिहास पुनः दोहोरिने खतरा ?
स्मरण रहोस्, २०६५ सालको भदौ २ गते, जब कोशीमा १ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको बेला पूर्वी तटबन्ध भत्किएको थियो । त्यसबेला ठूलो जनधनको क्षति भएको थियो । अहिलेको बहाव त्यसको नजिक पुग्न थालेको छ, जसले स्थानीय बासिन्दा र प्रशासनलाई पुनः सजग बनाएको छ ।
सशस्त्र प्रहरी, सिविल प्रशासन र स्थानीय तहहरूले नदी किनारमा बस्ती बसोबास गर्ने नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेका छन् । सम्भावित बाढी, कटान वा तटबन्ध क्षतिलाई ध्यानमा राख्दै तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई पनि निर्देशन दिइएको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदा खतरा बढ्न सक्ने भएकाले सतर्कता अति आवश्यक देखिएको छ । स्थानीयबासी, किसान, नदी किनारका बासिन्दा र प्रशासनले संयमता र सतर्कता अपनाए वर्तमान परिस्थितिको सामना सजिलै गर्न सकिने सुरक्षा निकायका पदाधिकारीले बताएका छन् । कोशीले फेरि वितण्डा नचलाओस् भन्ने कामना सहित, सबैको सहयोग र सर्तकता अत्यावश्यक रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।















