Logo

१९ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि बाटो खुलेको छ ।

आइतबार साँझ पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरे पनि कार्यालय समय सकिएकाले उनले पत्र बुझाउन पाएका छैनन्। उनको सचिवालयले आज औपचारिक रूपमा प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र दर्ता गर्दैछ। लामाले आफ्नै पार्टी, नेपाली कांग्रेस, भित्रको आन्तरिक द्वन्द्वका कारण नैतिक संकटमा परेर राजीनामा दिएका हुन्। कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उनी इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि उनको राजीनामा करिब निश्चित भएको थियो।

प्रदेश प्रमुख फर्किएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने

मुख्यमन्त्री लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। हाल उपचारका लागि काठमाडौंमा रहेका देवकोटा आज हेटौंडा फर्कने तयारीमा छन् । यसअघि, लामाले नियुक्त गरेका तीनजना नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम पनि प्रदेश प्रमुखको अनुपस्थितिका कारण रोकिएको थियो। प्रदेश प्रमुखले लामाको राजीनामा स्वीकृत गरेलगत्तै नयाँ सरकार गठनका लागि बहुमत सांसदहरूको समर्थनसहित दाबी पेस गर्नुपर्ने हुन्छ।

मुख्यमन्त्रीमा बानियाँको दाबी, एमालेको समर्थन खोज्दै

नेपाली कांग्रेसको संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्रबहादुर बानियाँ अब बागमती प्रदेशको भावी मुख्यमन्त्रीका प्रबल दाबेदार बनेका छन्। उनी सत्ता साझेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने तयारीमा छन् । बानियाँले बहुमत ५६ जना सांसदको हस्ताक्षरसहितको दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ ग्रहण गराउनेछन्। यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।


सम्बन्धित समाचार