Logo

१९ साउन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले मुलुकमा देखिएका प्रमुख समस्याहरूको सम्बोधनभन्दा उल्टो, आरोप–प्रत्यारोपमा केन्द्रित सरकारको धारणा आपत्तिजनक रहेको टिप्पणी गरे।

मधेसमा मल अभाव, सरकारको बेवास्ता
प्रधानले पछिल्लो समय मधेसमा परेको वर्षाले किसानलाई राहत मिलेको भए पनि युरिया मलको अभावले उनीहरू थप समस्यामा परेको बताएका छन्। “भगवानको कृपाले वर्षा भयो, तर सरकारले युरिया मल वितरणमा ध्यान दिएको छैन,“ उनले भने।

भिजिट भिसा समस्या र छानबिनको माग
भिजिट भिसा प्रकरणमा उनले समस्या भिजिट भिसा प्रणालीमा नभई श्रम मन्त्रालय अन्तर्गतका संयन्त्र र दलालको भूमिकामा रहेको उल्लेख गर्दै निष्पक्ष न्यायिक छानबिन समितिको गठनको माग गरे।
“जब संसदमा आवाज उठ्छ, सरकार र कार्यकारी प्रमुखले राप्रपा र रास्वपामाथि व्यवस्था विरोधी आरोप लगाउँछन्, जुन अत्यन्त खेदजनक हो,“ प्रधानले भने।

सभामुखको भूमिकामाथि प्रश्न
प्रधानले सभामुखको निष्पक्ष भूमिकामा प्रश्न उठाउँदै भने, “सभामुख सरकार पक्षीय भएर सोच्नु ठीक होइन। उहाँ क्षमतावान हुनुहुन्छ, समाधान निकाल्न सक्छन्। तर हामी जनताको आवाज उठाइरहेका छौं, यसको सम्बोधन हुनुपर्छ।“

संसदीय प्रक्रियामा सहयोगको प्रतिबद्धता
प्रधानले राप्रपा संसदमा समाधानको पक्षमा रहेको बताउँदै भने, “हामी आरोप होइन, समाधान चाहन्छौं। सदन सञ्चालनमा राप्रपा जिम्मेवार भूमिका खेल्न तयार छ।“

सांसद प्रधानको भनाइले संसदमा उठिरहेको असन्तुष्टि, खासगरी भिजिट भिसा प्रकरण र किसानका मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने माग थप बलियो बनाएको छ।


सम्बन्धित समाचार