१९ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने औपचारिक सहमति गरेको छ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले एकताको प्रारम्भिक सहमति भएको जानकारी दिए।
सापकोटाले भने, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने सहमति भएको छ। अब वार्ता टोली बनाएर औपचारिक छलफल प्रक्रिया अघि बढाउनेछौं।”
माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच विगत केही समयदेखि एकताको सम्भावना र छलफल चलिरहेको थियो। अब स्थायी कमिटीको निर्णयसँगै पार्टी एकताका लागि औपचारिक वार्ता प्रक्रिया थालिने भएको छ।
पार्टी एकता भएमा मुलुकको कम्युनिष्ट आन्दोलनमा नयाँ मोड आउने आँकलन गरिएको छ। अब बन्ने वार्ता टोलीको नेतृत्व कसले गर्ने र छलफल कहिलेदेखि सुरु हुने भन्नेबारे माओवादी केन्द्रले छिट्टै जानकारी दिने बताइएको छ।















