Logo

१९ साउन,काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको स्नातकोत्तर तह (पीजी) को विशेष लाइसेन्स परीक्षामा करिब ९२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

काउन्सिलले साउन १५ र १६ गते सञ्चालन गरेको परीक्षामा ९१.८२ प्रतिशत परीक्षार्थी सफल भएको जनाएको छ। यो संख्या अघिल्लो वर्षको साउनमा भएको परीक्षाको तुलनामा ०.३७ प्रतिशतले बढी हो।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, परीक्षाका लागि १,०७९ जनाले फारम भरेका थिए। तीमध्ये १,०७६ जना परीक्षा दिइ सहभागी भए भने ९८८ जना उत्तीर्ण भएका छन्। ४ जनाको नतिजा भने रोकिएको काउन्सिलले जनाएको छ।

यस पटकको परीक्षामा ३६ विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। काउन्सिलका अनुसार, यो पहिलो पटक पीजी लाइसेन्स परीक्षामा यति धेरै संख्यामा चिकित्सक उत्तीर्ण भएका हुन्।

विशेष परीक्षा पास गरेपछि चिकित्सकहरूलाई विशेषज्ञका रूपमा अभ्यास गर्न अनुमति (लाइसेन्स) दिइन्छ। नेपाल मेडिकल काउन्सिलले हरेक वर्ष साउन महिनामा स्नातकोत्तर तहको लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।

 


सम्बन्धित समाचार