१९ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरेको छ। बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै अमर्यादित गतिविधिमा संलग्न विद्यार्थीहरूको नतिजा रद्द गरिएको जानकारी दिएको हो।
बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले नियमिततर्फ ११ र आंशिकतर्फ ६ जना गरी कुल १७ जनाको नतिजा रद्द गरिएको जानकारी गराए।
उनका अनुसार परीक्षामा अमर्यादित गतिविधि, अनियमितता वा अनुशासनहीन क्रियाकलापमा संलग्न भएको प्रमाणित भएका विद्यार्थीहरूको नतिजा खारेज गरिएको हो।
यस वर्षको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (एनजी) भएका छन्।
बोर्डले परीक्षाको मर्यादा कायम राख्न र निष्पक्षता सुनिश्चित गर्न कडाइका साथ नियमन गरिरहेको बताएको छ। परीक्षाफल रद्द गरिएका विद्यार्थीका विवरण सम्बन्धित विद्यालयमार्फत जानकारी गराइने बोर्डले जनाएको छ।















