Logo

१९ साउन, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बैंकिङ कसुर र राजावादी प्रदर्शनसँग सम्बन्धित दुई फरक मुद्दामा कुल २८ लाख रुपैयाँ धरौटी माग गर्दै अदालतले यो आदेश दिएको हो।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले सोमबार बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनको मुद्दामा ३ लाख गरी कुल २८ लाख रुपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो।

१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले यो निर्णय गरेको हो। अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्ने आदेश दिएको छ।

आदेशमा भनिएको छ, “मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गाप्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा, साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी २५ लाख नगद धरौटी वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला।”

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा उनले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ। अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजायको माग गरेका थिए।

अदालतमा बयान दिने क्रममा प्रसाईंले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए। अदालतको आदेशअनुसार प्रसाईंले अब तोकिएको धरौटी बुझाएर तारेखमा रही मुद्दा लड्न पाउनेछन्। यदि उनले धरौटी बुझाउन नसकेमा कानुनबमोजिम थुनामा पठाइने आदेशमा उल्लेख छ।


सम्बन्धित समाचार