२० साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय देखिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा उत्तरतर्फ, तराई भेगमा सरेकोले देशभर अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर अधिकांश ठाउँमा बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्हरु अनुमान छ ।
राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भन्दै वर्षा जन्य सम्भावित जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।















