२० साउन, ठोरी । एसईई र कक्षा ८ को परीक्षा परिणाममा निराशाजनक देखिएको ठोरीको नतिजा आशा गरिएको कक्षा १२ को नतिजा पनि ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयहरूका लागि सन्तोषजनक हुन सकेन। सोमबार सार्वजनिक कक्षा १२ को परीक्षाफल अनुसार ठोरीका सामुदायिक विद्यालयबाट कुल १४३ जना परीक्षार्थी सहभागी भएकोमा सोमध्ये ३५ जना मात्र अर्थात् २४.४७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
यसअघि सार्वजनिक एसईई परीक्षामा ठोरीमा करीब २० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए। यस सन्दर्भमा कक्षा १२ को नतिजा केही सुधार देखिए तापनि, समग्रमा नतिजा अझै निराशाजनक रहेको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन्।
सरस्वती मावि ठोरी–२ उत्कृष्ट, ५५.५५% विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजामा ठोरी–२ स्थित सरस्वती माध्यमिक विद्यालय सबैभन्दा उत्कृष्ट देखिएको छ। सो विद्यालयबाट परीक्षामा सहभागी २७ मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भई ५५.५५ प्रतिशत सफलताको दर हासिल गरेका छन्। विद्यालयले यसपटक ठोरीका अन्य विद्यालयलाई पछि पार्न सफल भएको छ।
यस्तै ठोरी ३ को नेरामावि ओडारबाट ३०.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सो विद्यालयबाट कुल ३३ जना परीक्षार्थी मध्ये १० जना परीक्षार्थी उत्तीर्ण भई पालिकामा नै दोस्रो हुन सफल भएको सहायक प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले जानकारी दिए । यस्तै सोमबार प्रकाशित नतिजा अनुसार
ठोरी ४ मा रहेको बिजयबस्ती मावि , १ मा रहेको नेरा प्राविधिक मावि दिपकनगर र ५ मा रहेको ज्ञानवाटिका मावि क्रमशः तेस्रो , चौथो र पाचौँ भएका छन्। विजयवस्तीबाट ३२ जना परीक्षार्थी मध्ये ७ जना , प्राविधिक माविबाट १४ जना परीक्षार्थी मध्ये १ जना र ज्ञानवाटिकाबाट ३७ जना मध्ये २ जना उत्तीर्ण भएका हुन्।
सबैभन्दा धेरै जिपिए नेरामावि ओडारकी छात्रा को
ठोरीमा रहेका कक्षा १२ सन्चालित ५ ओटा विद्यालयमध्ये नेरामावि ओडारकी छात्रा प्रिया श्रेष्ठले सबैभन्दा धेरै जिपिए प्राप्त गरेकी छन्। उनले ठोरीका अन्य परीक्षार्थीलाई पछि पार्दै ३.५५ जिपिए ल्याउन सफल भएको सहायक प्रधानाध्यापक सापकोटाले बताए ।















