प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० साउन,काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक, २०८० मा देखिएको त्रुटिसम्बन्धी विषयमा गठित उच्चस्तरीय अध्ययन तथा छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन आज प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको छ।

समितिका सदस्य माधव सापकोटाका अनुसार सिंहदरबारमा रातभर बसेर प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ। २९ दिनको अवधिमा समितिले ३७ पटक बैठक बसेर प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन तयार पार्दा भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिने उपायका लागि विषय विज्ञहरूसँग समेत परामर्श गरिएको जनाइएको छ। विधेयक निर्माण प्रक्रियामा देखिएका कमजोरीहरू सुधार गर्न सरोकारवालासँग विभिन्न कोणबाट छलफल गरिएको समिति स्रोतले जानकारी दिएको छ।

प्रतिनिधिसभाले असार २३ गते यो विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

प्रतिवेदनमार्फत विधेयक निर्माण प्रक्रियामा हुने त्रुटिहरू कसरी हुने गर्छन् भन्ने मूल्यांकनसँगै आगामी दिनमा यस्ता गल्ती नदोहोरÞ्याउनुपर्ने सुझावसहित सिफारिसहरू समेटिएको जनाइएको छ।

 


सम्बन्धित समाचार