Logo

२० साउन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ३ बजे पार्टी कार्यालय, वनस्थलीमा सचिवालय बैठक आह्वान गरेको छ। बैठकमा हालै सम्पन्न रुपन्देहीको राजनीतिक गतिविधिदेखि पार्टीको संगठनात्मक तथा रणनीतिक विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ।

बैठकको मुख्य एजेन्डामा रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनको तयारी, त्यसअन्तर्गत निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया र प्रतिनिधिसभाको समानुपातिक सूचीबाट नाम हटाउने सम्बन्धी निवेदनसम्बन्धी विषयहरू समावेश छन्।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा क्रियाशील समस्या समाधान कार्यदलको प्रगतिबारे समीक्षा गरिनुका साथै, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ।

रास्वपाले बैठकमा केन्द्रीय समिति बैठक तथा रणनीतिक समूहहरूको गठन, विभाग प्रमुख नियुक्ति, र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न दबाबमूलक अभियान सुरु गर्नेबारे पनि छलफल गर्ने जनाएको छ।

पार्टी सभापति रवि लामिछानेमाथि गरिएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर संकलन अभियानलाई थप प्रभावकारी बनाउने रणनीति पनि बैठकको मुख्य एजेन्डामध्ये एक हो।

रास्वपाले पछिल्ला दिनमा देखिएका राष्ट्रिय तथा पार्टीगत मुद्दाहरूमा तीव्र सक्रियता देखाउँदै आएको छ। आजको बैठकले आगामी राजनीतिक रणनीति निर्धारणमा दिशा दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार