२० साउन,धनगढी । महाकाली नदीमा पानीको सतह खतराको तह पार गरेपछि शारदा ब्यारेज भएर चल्ने चार पाङ्ग्रे सवारीसाधनको आवागमन मंगलबार बिहानदेखि रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले बिहान पानीको बहाव एक लाख २४ हजार क्युसेक पुगेपछि सावधानीका रूपमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए।
महाकाली नदीमा जलसतह एक लाख क्युसेक पुगेपछि खतरा मानिन्छ। हाल पानीको बहाव यो सीमाभन्दा बढी पुगेको छ। यद्यपि तराई क्षेत्रमा भारी वर्षा नहुँदा पनि पहाडी क्षेत्रमा लगातार पानी परिरहेकाले नदीमा जलस्तर बढेको हो।
सवारीसाधन रोकिए पनि आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गरिएको र नदी आसपासका क्षेत्रवासीलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा निरन्तर वर्षा भइरहेको हुँदा महाकालीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन्।















