Logo

२० साउन, पाँचथर ।पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट ६ दिनअघि बेपत्ता भएका एकै परिवारका दुई बालबालिकाको शव फेला परेको छ।

साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर राई र ४ वर्षीया छोरी नानुमा राईको शव मंगलबार बिहान बिरुवा खोला बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुवै बालबालिका स्थानीय पूर्ण आधारभूत विद्यालयमा क्रमशः कक्षा ४ र १ मा अध्ययनरत थिए। उनीहरूकी आमा वैदेशिक रोजगारीमा छिन् भने बुबा बिर्खबहादुर राई गाउँमै बसोबास गर्दै आएका छन्।

प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपेश तामाङका अनुसार दाजु–बहिनीको शव घरबाट करिब सात किलोमिटर टाढा बिरुवा खोला बगरमा दुई सय मिटरको फरकमा फेला परेको हो।

‘हामी हाल घटनास्थलमा छौं, अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने। घटनास्थलमा प्रहरी निरीक्षक खेमराज घिमिरेको नेतृत्वमा टोली परिचालन गरिएको छ।

शुक्रबारदेखि बेपत्ता रहेका बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी र जनप्रतिनिधिहरू सक्रिय रूपमा लागिरहेका थिए। खोजी कार्य जंगल, खोला र आसपासका क्षेत्रमा केन्द्रित गरिएको थियो।

बालबालिकाको शव भेटिएको बिरुवा खोला साविक च्याङथापु–१ र ८ को सीमाबाट बग्ने नदी हो। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार शव भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीका अनुसार मृतक बालबालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार