२० साउन,हेटौँडा । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनपछि नयाँ सरकार गठनको तयारी भइरहँदा नेपाली कांग्रेसभित्र मन्त्री छनोटलाई लिएर किचलो सुरु भएको छ। आन्तरिक विवादका कारण कांग्रेसले सहभागी गराउने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा एक मात्र मन्त्रीलाई शपथ खुवाएर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
शिवराज अधिकारीमात्रै शपथको तयारीमा
नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार दिउँसो ४ बजे शपथ लिन लागिरहेका छन्। उनको मन्त्रिपरिषदमा एमालेले ६ मन्त्रीको नाम टुंग्याए पनि कांग्रेसले धादिङका सांसद शिवराज अधिकारी मात्र शपथको लागि तय गरेको छ।
रसुवाका प्रभात तामाङ र सिन्धुपाल्चोकका कृष्ण तामाङको पनि नाम चर्चामा आए पनि उनीहरू तत्काल शपथ नखाने सम्भावना देखिएको छ।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन चुनौती
कांग्रेसभित्र नयाँ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाबीचको शक्ति सन्तुलन मिलाउन नसक्दा तनाव बढेको हो। बानियाँ समूहले तयार पारेको मन्त्री सूची लामा समूहले बनाएका ३ मन्त्री (गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ) लाई समेट्नुपर्ने सहमति भएपछि फेरबदल आवश्यक भएको हो।
यसैकारण बानियाँले सुरुमा एकजना मात्र मन्त्रीको शपथ गराएर काठमाडौं गएर सभापति शेरबहादुर देउवासँग छलफल गरेर बाँकी मन्त्री चयन गर्ने योजना बनाएका छन्।
मन्त्रीको आकांक्षी धेरै, सम्भावना अपुग
कांग्रेसले मुख्यमन्त्री बाहेक ७ मन्त्रालय पाउने भएपछि आकांक्षीहरूको संख्या बढेको छ।
मन्त्री पदको आकांक्षा राख्नेमाः
शिवराज अधिकारी,बिन्दु रायमाझी पौडेल,यान्किला शेर्पा,सुरेश श्रेष्ठ,कृष्ण तामाङ,मीनकृष्ण महर्जन,विमल ठकुरी,मदु कुमार श्रेष्ठ,सुरजचन्द्र लामिछाने,रमेश महत,उर्मिला केसी,प्रभात तामाङ यसअघि बहादुर सिंह लामाको नेतृत्वमा मन्त्री बनेर राजीनामा दिएका ठकुरी, श्रेष्ठ र लामिछानेको पुनः नियुक्तिको सम्भावना न्यून देखिएको छ।
पार्टी नेतृत्वको भूमिका निर्णायक
पार्टी सभापति देउवाले बहादुर सिंह लामाले नियुक्त गरेका ३ जना मन्त्रीलाई नयाँ मन्त्रिमण्डलमा समावेश गर्न सहमति जनाएपछि कांग्रेसभित्र शक्ति सन्तुलन मिलाउन चुनौती बढेको हो।
अबका केही दिन कांग्रेसको मन्त्री छनोट प्रक्रिया र मुख्यमन्त्री बानियाँको विश्वासको मत लिने रणनीतिमा केन्द्रित रहने देखिएको छ। यसै कारण प्रारम्भिक मन्त्रिपरिषद् अपूर्ण रहने सम्भावना बलियो बनेको छ।















